पञ्चैबाजा बजाउन सिक्दै महिला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार

चरिकोट, फागुन २

दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण र प्रवर्द्धन गर्दै महिलाहरूको आयआर्जनमा सघाउन वडाले तालिम सुरु गरेको हो। तालिमको उद्घाटन समाजसेवी कृष्ण बहादुर कार्कीले गर्नु भयो । सो अवसरमा उहाँले ऐतिहासिक, मौलिक, साँस्कृतिक र सामाजिक महत्वको पञ्चैबाजा विस्थापन हुने खतरा बढेकोले संरक्षणमा सबै जुट्न खाँचो रहेको बताउनुभयो। आधुनिक वाजाको प्रभाव र युवा पुस्ताको वेवास्ताले आजभोलि पञ्चैबाजा बज्न छाड्दा सामाजिक, सांस्कृतिक उत्सवको रौनकता घट्नुका साथै संस्कृति लोपोन्मुख बनेकोमा चिन्ता व्यक्त गर्नुभयो। सरकारी पक्षबाटै पञ्चैबाजा संरक्षण र संवद्र्धन गर्नु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडाध्यक्ष वासु श्रेष्ठले पञ्चैबाजाको संरक्षणसँगै महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण हुने वडावासीको सल्लाह सुझाव अनुसार तालिम आयोजना गरिएको बताउनु भयो। वडाका महिलालाई नमुना पञ्चैवाजा टोलीको रुपमा विकास गर्न वडाले सकेको सहयोग गर्ने वडाध्यक्ष श्रेष्ठको भनाई छ। उहाँले तालिमबाट प्राप्त कला सिपलाई प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रुपान्तरणको अभियानमा सहभागी हुन अनुरोध गर्नु भयो। दाजुभाइले वेवास्ता गर्दा पञ्चैबाजा बजाउने सिप हस्तान्तरण हुन नसकेको बेला महिलाहरुलाई तालिम प्रदान गरि वडाले सकरात्मक कार्यको सुरु गरेको स्थानीय अगुवा महिला तारा नेपालीले बताउनुभयो। उहाँले पुरुष मात्र होइन महिला पनि हरेक काममा सक्षम र योग्य हुन्छन् भन्ने सन्देश दिन तालिमबाट सिकेको सिप व्यवहारमा उतारेर प्रमाणित गर्न अनुरोध गर्नु भयो। आफ्नै घरआँगनमा तालिम लिन पाएपछि स्थानीय महिला उत्साहित भएका छन् । तालिममा २० जना महिलाको सहभागिता रहेको छ। स्थानीय भुवन नेपाली र रामकुमार नेपालीले सहनाई, कृष्ण बहादुर नेपालीले ढोलक र ट्याम्को,भक्त बहादुर नेपालीले नरसिंहा, लोक बहादुर नेपालीले दमाहा र कर्नाल बजाउन प्रशिक्षण दिनु हुने छ।

Shares

Be the first to comment on "पञ्चैबाजा बजाउन सिक्दै महिला"

Leave a comment

Your email address will not be published.


*