सगरमाथा चुचुरोमा कफी खुवाउने दाबुटीको योजना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नीता राउत
चरिकोट – सगरमाथा आरोहण चुनौती पूर्ण छ र यो आफैमा एउटा रेकर्ड हो । तर धेरैले सगरमाथा आरोहणसंगै थप रेकर्ड पनि बनाएका छन् । सबैभन्दा छिटो आरोहण गर्ने, सानो उमेरमा आरोहण गर्ने, बढी उमेरमा आरोहण गर्ने, बिना अक्सिजन आरोहण गर्ने आदि आदि । यस्तै नयाँ रेकर्डका साथ सगरमाथा आरोहण गर्ने लक्ष्य लिएकी छन् दोलखाको उत्तरी गाँउ गौरीशङ्कर गाँउपालिका स्थित सिमीगाँउकी २३ बर्षिय दाबुटी शेर्पाले । सिमीगाउँमा विसं २०५१ सालमा जन्मिएकि दाबुटी शेर्पा नेपाली कफी प्रमोशन गर्ने उदेश्यका साथ पहिलो बारिष्टा महिला शेर्पा सगरमाथा अभियान सन् २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेकी छन् ।
सन् २०१३ मा मितिनी क्याफेबाट कफी सम्बन्धी तालिम लिएकी उनले राम्रो काम गरेकै कारण मितिनि क्याफेमानै काम गर्ने अवसर पाईन । काममा केही बर्षको अनुभव पश्चात उनले मितिनी क्याफेबाट नै कफी सम्बन्धी तालिम दिदै आफ्नो पेशालाई अगाडी बढाई रहेकी छन् । अहिले उनी बौद्धमा मितिनीकै शाखाको रुपमा आफ्नै मितिनी नामकै क्याफे सञ्चालन गरिरहेकी छन् । सगरमाथाको आरोहण गर्ने आफ्नो सानो देखिको शौख पनि पुरा हुने र आफ्नो व्यवसायको प्रवद्धन पनि हुने भएकोले कफी सहितको आरोहणको तयारीमा लागेको दाबुटी बताउछिन् । नेपाली कफी हामी नेपालीहरुले कहिल्यै प्राथामीकतामा राखेनौ दाबुटीले भनिन् – यसको बजार विदेशमामात्र सिमित भयो त्यसैले नेपाली कफीको बजार नेपालमै प्रमोसन गर्न सगरमाथा आरोहणको तयारीमा छु । कफीको प्रमोसन सहित गरिने सगरमाथा आरोहणले विदेशमा राम्रो बजार पाएको नेपाली कफीले नेपालमा समेत त्यस्तै राम्रो बजार पाउने विश्वास आफुले लिएको दाबुटी बताउछिन् । नेपालमा कफी खेतीलाई व्यवसायीक रुपमा अगाडि बढाउने र नेपालमै बजारको व्यवस्थापन गर्न सके देशबाट भै रहेको युवा पलाएनलाई समेत रोक्न सकिने दाबुटीको भनाई छ । दाबुटीले नेपाली कफी प्रमोसनको लागि सगरमाथाको चुचुरोमा पुगेर कफी बनाई अन्य आरोहिहरुलाई दिने योजना बनाएकी छन् । त्यसैगरी क्याम्प १, २, ३ र ४ मा पनि सगरमाथा आरोहणमा सहभागि पर्यटकलाई कफि खुवाउने लक्ष्य लिएको दाबुटी बताउछिन् । सगरमाथा आरोहण तयारीको लागि केहि दिनमा नै दोलखाको रोल्वालिङ्ग क्षेत्रमा पर्ने राम्दुङ्ग पिक र ऐलुंग पिक चढ्ने तयारी गरिरहेको शेर्पाले बताईन । साथै नेपाली कफीको प्रमोसन सहित सगरमाथा आरोहण गर्ने आफ्नो योजनामा साथ दिन सबैलाई उनले आग्रह गरेकी छन् ।

Shares

Be the first to comment on "सगरमाथा चुचुरोमा कफी खुवाउने दाबुटीको योजना"

Leave a comment

Your email address will not be published.


*