सडकले कोरेको समृद्धि,

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

दिलबहादुर केसी

काठमाडौंबाट पूर्व अरनिको लोकमार्ग लागेपछि काभ्रेपलाञ्चोक हुँदै चीनसँगको पुरानो तातोपानी नाका पुगिन्छ । अरनिको लोकमार्गको सिन्धुपाल्चोकको खाडिचौरबाट सुनकोसी तरेर पूर्व लागेपछि उकालो लाग्ने अर्को पक्की सडक भेटिन्छ । जुन सडक हुँदै ११० किलोमिटर यात्रा गर्दा जिरी पुगिन्छ ।
यो लामोसाँघुदेखि जिरीसम्म यात्रा गर्दा लेक–बेंसी, गर्मी चिसो सबैका अनुभुती गर्न सकिन्छ । जुन यात्रा ३÷४ घण्टाको छोटो यात्रामा यस्तो अनुभुती अन्यत्र विरलै गर्न सकिएला । सुनकोसी र तामाकोसी गरी दुई वटा नदी तर्नु पर्छ । ९ सय मिटरको सतहदेखि २ हजार ८ सय मिटर उचाइका खरिढुङ्गा, खावाडाँडा र देउराली जस्ता पहाडहरुका उकालो ओरालो र घुम्तीहरु पार गर्दै जिरी पुग्न सकिन्छ ।
वि.सं. २०३२ सालबाट निर्माण सुरु भएको सो सडक आयोजना २०४२ सालमा निर्माण पूरा भएको हो । यो हिसावले पनि आजभन्दा ३२ वर्ष पहिले नै जिरीसम्म पक्कि सडक तयार भएको हो । यो नै दोलखा सहित काठमाडौंको पुर्वी पहाडी जिल्लाको लाइफ लाइन मान्नु पर्छ ।
दोलखा जिल्लाकै मध्ये भागबाट रेखा झैं कोरिएर निर्माण भएको सडकले दोलखा जिल्लाभरलाई सहज भएको हो । यसले सिन्धुपाल्चोकको पूर्वी भेगलाई समेत राम्रै सुविधा पुगेको छ । विपी राजभार्ग र मध्ये पहाडी राजमार्ज नखुल्दा(करिब एक दशक अघि) सम्म पूर्वी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, र ओखल्ढुङ्गाको पश्चिमी भेग यही सडकबाट ढुवानी र यात्रा हुन्थ्यो ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा र सोलुका हजारौं यात्रुहरु लिएर दैनिक ३०० भन्दा बढी बसहरु र त्यत्तिकै संख्यामा मालवाहक ट्रकहरु र अन्य साना ठूला यातायातका साधनहरु दोलखा, रामेछाप र सिन्धुपाल्चोकका पूर्वी गाउँहरुमा पुग्छन् । केही वर्षयता ग्रामीण सडकको निर्माण तिव्र गतिमा अघि बढिरहेको छ । जति जति ग्रामीण सडकहरुको विस्तार हुँदै जान्छ त्यही अनुपातमा यो सडकमा सवारी साधनको घनत्व पनि बढि रहेको छ ।
विपी राजमार्गसँग रामेछाप जोडिएपछि ३ वर्षयता रामेछाप, ओखलढुङ्गाको यात्रा उतैबाट छोटिएको छ । त्यसले गर्दा रामेछाप, ओखलढुङ्गा जाने गाडीको भार अब यो सडकले थेग्ने जिम्मेवारी घटेको छ ।
जिरीलाई नेपालको सगरमाथा प्रवेश द्वार पनि भनिन्छ । यसको कारण पनि काठमाडौंबाट जिरीसम्म बस चढेर जाने । त्यहाँबाट सगरमाथाका लागि टे«किङ सुरु हुन्थ्यो । जिरीसम्म ट्रकमा ढुवानी भएको खाद्यान्न, लत्ता कपडा, निर्माण सामाग्री रामेछापका उत्तरपर्वी भेग, ओखलढुङ्गा र सोलुखुम्बुमा भरिया र हेलिकप्टरमार्फत ढुवानी हुन्थ्यो । यो क्रम आजभन्दा एक दशक अघिसम्म कामय थियो । त्यो बेलो जिरीको व्यापार पनि खुबै चम्किएको थियो । सगरमाथाको पहिलो आरोही एडमन हिलारी सगरमाथा आरोहणमा जाँदा पनि जिरी हुँदै गएको बुढापाकाहरु बताउँछन् ।

सडकमा स्वीसको देन

जिरीलाई स्वीटजरल्याण्डको जुरीच सहरसँग तुलना गरिन्छ । जुरीच र जिरीको भौगोलिक संरचना भेरै जसो मिल्दो जुल्दो भएकाले जिरीलाई नेपालको स्वीटजरल्याण्ड भनेर पनि चिनिन्छ । स्वीसहरु घुम्न आउँदा जिरीलाई राम्रो लागेपछि जिरीको विकासमा उनीहरुले चासो देखाए । जिरीमा वि.सं. २०१४ सालमा जिरी पशु फार्मको स्थापना भयो । त्यही बेला जिरी अस्पताल खुल्यो । सँगै जिरीमा विद्यालय, तालिम केन्द्र सुरुवात भएका थिए ।
जिरीको क्रमिक विकासका क्रममा जिरीसम्म पुग्नका लागि २०३२ सालमा स्वीसकै सहयोगमा लामोसाँघु जिरी सडक बनेको हो । सडक निर्माणमा र विस्तारमा अहिल पनि धेरै सडकमा जग्गाको विवाद हुन्छ । तर तत्कालिन सरकारले लामोसाँघुदेखि जिरीसम्मको दायाँ बाँया ३० मिटर जग्गा उपलब्ध गराएको थियो । सडकपछि विस्तार गर्न सकिने उद्देश्य राखेर सडकको दायाँ बाँया १५÷१५ मिटर जग्गा अधिग्रहण गरेको छ ।
पाखुराको बलमा निर्माण गरेको सडक तत्कालिन आवश्यकताको आधारमा ३ मिटर चौडाईको कालोपत्रे सडक तयार भयो । एक लेनको सडक भए तापनि अहिलेसम्म त्यो सडक धेरै क्षति भएको छैन । आजभोली ठूला ठूला क्षमताको गाडी सञ्चालन र गाडीको चाप समेत बढेपछि ३० वर्षपछि सरकारले सडक विस्तार सुरु गरेको छ । त्यही जग्गाका कारण ३० वर्षपछि विस्तार गर्न लागेको सडकका लागि जग्गाको कुनै समस्या छैन ।

सडकले दिएको उपहार

सडकलाई विकासको पूर्वाधारको महत्वपूर्ण अंग मानिन्छ । दोलखा हिमाली जिल्ला भएर पनि ४० को दसक तिरै पक्कि सडक भएको नगण्य जिल्ला मध्ये पर्छ । सडक सञ्जालकै कारण दोलखाबासीहरु काठमाडौंसँग नजिकीएका हुन् । त्यसैले विद्यालय, स्वास्थ्य चौकी बेलैमा खुलेको पाइन्छ ।
अहिले दोलखाका अति दुर्गम भनिएका विगू, आलम्पू र लामाबगर, रामेछापका बाम्ती, गुम्देल, प्रिती, डडुवा, गौस्वारा लगायतका गाउँका मानिसहरु आफ्नै घर आँगनबाट बस चढेर सोझैं सदरमुकाम र राजधानी पुग्न सक्ने भएका छन् । स्थानीय उत्पादनहरु सोझै अघिल्लो दिन काठमाडौं लगायतका सहरको भाउ बुझेर भोली पल्टै सहर पु¥याउन सक्ने भएका छन् ।
हरिया डाँडा, वन जंगल, नदी, खहरेको सुस्केरा, हिमालको मनमोहक दृश्यावलोकन गर्दै यात्रा गर्ने यात्रुहरु पनि यहाँ आउनेहरुको संख्या पनि उत्तिकै रहेको छ । यसरी हेर्दा पर्यटकीय दृष्टिकोणबाट पनि यो सडक उत्तिकै महत्वपूर्ण मानिन्छ । यसको निर्माण पनि धेरै गाउँलाई सुविधा पुग्ने गरी र पर्यटकीय दृष्टिकोणबाट पनि आत्मसाथ राखेर निर्माण गरिएको पाइन्छ ।
दोलखाको लाँकुरीडाँडामा म्याग्नेसाइट, खरिढुङ्गाको उद्योग सञ्चालन भएको थियो । एसियाकै दोस्रो ठूलो म्याग्ने साइट खानी रहेको यो उद्योगमा दसौं हजारले रोजगारी पाएका भए पनि व्यवस्थापन र विविध कारणले विगत एक दसकदेखि बन्द रहेको छ । आजभोली आलम्पू र चिलंखाका प्रख्यात ढुङ्गाखानीका स्लेटहरु सोझै राजधानी पुग्न थालेका छन् ।
तामाकोसी बजारछेऊबाट खिम्तीसम्म सडक विस्तार भएकोले खिम्ती १ जलविद्युत आयोजना निर्माण गर्न वातावरण बन्यो । त्यहाँबाट केही किलोमिटर सडक तयार पर्दा रामेछाप सदरमुकामसम्म २०५४ सालमा सडक पु¥याउन सहज भयो ।
दोलखामा नै १५ वर्ष अघि ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजना निर्माण पूरा भएर विद्युत उत्पादन गरिरहेको छ । जुन २०५२ देखि नै निर्माण सुरु भएको थियो । खिम्ती खोलामा अहिले पनि आधा दर्जन जलविद्युत आयोजनाहरु अध्ययन र निर्माणाधिन छन् । सडक सहज भएकै कारण नेपालकै ठूलो ठोसेको फलाम खानी पुनः सञ्चालन तयारी भइरहेको छ ।
वहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना यसैको उपज हो । भौतिक पूर्वाधारमा आयोजनाका लागि सडकको काम धेरै गर्नु नपर्ने भएकाले पनि यस्ता आयोजनाहरु दोलखामा भित्रीएका हुन् । दोलखामा परियोजनाहरु आउँन लामोसाँघु सडकले ठूलो भूमिका खेले पनि जिल्लाको उत्तरी भेगमा स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले थप कठिन भीरहरु छिचोलेर सडक निर्माण गरिदिए पछि अरु आयोजनाका लागि अझ सहज भएको छ ।
सडक पूर्वाधार पुगेका कारण नै माथिल्लो तामाकोसी आयोजना बाहेर दोलखाको तामाकोसी नदी र त्यस वरपरका सहायक खोलाहरुमा एक दर्जन अन्य जलविद्युत आयोजनाहरु निर्माण भइरेका छन् । त्यस्तै डेढ दर्जनभन्दा बढी जलविद्युत आयोजनाहरुले अध्ययन भइरहेका छन् । रामेछाप, ओखलढुङ्गा र सोलुको सीमाको रुपमा लिखु खोलामा आधा दर्जन आयोजना निर्माण सुरु भएका छन् ।
जलविद्युतको विकासलाई अहिले नेपालमा आर्थिक विकासको महत्वपूर्ण पक्षको रुपमा लिइन्छ । एउटा विद्युत आयोजनाले लोडसेडिङको मार खेपिरहेको देशलाई केही राहत उपलब्ध गराउन मद्दत त गर्छ नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी र आयआर्जन पनि गराउँछ । औद्योगिक विकासमा पनि ऊर्जाले ठूलो सहयोग पु¥याउँछ ।
आयोजना वरवरका स्थानहरुमा सडक सुविधा पु¥याउँछ भने भएको कच्ची सडकलाई स्तरोन्नती गर्नका लागि पनि यस्ता आयोजनाले ठूलो सघाउ पु¥याउछन् । त्यसैले पनि विद्युत आयोजनालाई महत्वपूर्ण रुपमा लिइन्छ । त्यसमा पनि इन्धनमा विदेशी भरमा पर्नु पर्ने अवस्थामा ऊर्जालाई इन्जिनको रुपमा पनि लिइन्छ ।
हिमाली जिल्लाको रुपमा रहेको दोलखालाई सरकारी स्तरमा अतिदुर्गमको ख श्रेणीमा वर्गीकरण गरिएको छ । तर सरकारी कर्मचारीहरु नजिकै रहेको रामेछाप र ओखलढुङ्गामा भन्दा दोलखा आउन र बस्न रुचाउँछन् । राजधानीबाट मात्र १३३ किलोमिटरको दुरीमा दोलखा सदरमुकाम आइपुगिने भएकाले र अन्य पूर्वाधारको विकास भएकाले देशका जिल्लाहरु घुमिसकेकाहरु आजभोली दोलखा आउने जोकोही पनि यो त पहाडि जिल्लाको सबैभन्दा विकसित जिल्ला भएको संज्ञा दिने गरेका छन् ।

अनि भयो सडक क्रान्ति
लामोसाँघु–जिरी सडक बनेपछि यो क्षेत्रमा सडक क्रान्ति सुरु भएको मान्छि । २०४२ सालमै सडक तयार पूर्ण रुपमा तयार भए तापनि १० वर्ष यही सडक मात्र थियो । २०५० पछि तामाकोसी–खिम्ती, जिरी–बेताली र चरिकोट–दोलखा सडक खुलेको देखिन्छ । त्यस्तै दोलखाको अहिलेका महत्वपूर्ण सडकहरुमा पर्ने दोलखा–सिंगटी, सिद्धाकोथान–जुँगू, मुडे–मेलुङ, सडक सुरु भए ।
त्यस्तै रामेछाप, ओखलढुङ्गा र सोलु पुग्ने जिरी–ठोसे–शिवालय, बाम्ती, खिम्ती–मन्थली–रामेछाप सडक सुरु भएको देखिन्छ । यि सडकहरु त्यहाँबाट पनि २०६३ पछि देशभर ग्रामीण सडक बनाउने लहर नै चल्यो । अहिले यि जिल्लाका धेरै सडक १२ महिना चल्ने धेरै सडक तयार भएका छन् । कति निर्माणाधिन छन् ।
युवाहरु नयाँ नयाँ व्यवसायमा लागेका छन् । किसानहरु काठमाडौं र तराईको तरकारीको मूल्य सोधेर ट्रकमा हालेर विहानै बजार पु¥याउन थालेका छन् । एक ठाउँबाट अर्को ठाउँ पुग्नु र काठमाडौं तराईका सहर पुग्न ५ दिन ७ दिन लाग्ने भन्ने एकादेशका कथा जस्तै हुन थालेका छन् ।
तामाकोसी–मन्थली–खुर्कोट पक्कि सडक बनेको छ । मन्थली–रामेछाप कालोपत्रे हुँदै छ । दोलखा–सिंगटी सहित दोलखाका आधा दर्जन, रामेछापका आधा दर्जन सडकहरु कालोपत्रे हुँदैछन् । अहिले गाउँ गाउँमा ट्रिपर र स्काभेटरहरु देखिन्छन् । निर्माण सामाग्रीहरु ढुवानी भएको भयैं छ । यसले के देखिन्छ भने अब गाउँ सहर सबैतिर पूर्वाधार निर्माणा जारी छ । देश बन्दै छ ।dilsagarkc@gmail.com

 

Shares

Be the first to comment on "सडकले कोरेको समृद्धि,"

Leave a comment

Your email address will not be published.


*