उत्तर कोरिया ट्रम्पसँग कुनैपनि बेला कुरा गर्न तयार !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार किमसँगको बैठक रद्द गराएपनि अझै उत्तर कोरिया कुनै पनि समय अमेरिकासँग कुरा गर्न तयार रहेको बताएको छ । उत्तर कोरियाका उप विदेश मन्त्री किम क्येग्वानले बिहीबार यसै विषयमा बोल्दै ट्रम्पको सो निर्णय अत्यन्तै दुःखदायी भएको उल्लेख गरेका हुन् । तर उनले ट्रम्पको बाहादुरीका लागि भने खुलेर प्रशंसा गरेका छन् ।

उनले भने, ‘ट्रम्पले अहिलेसम्म कुनैपनि राष्ट्रपतिले गर्न नसकेको कठिन निर्णय लिएर आफ्नो तर्फबाट वार्ताका लागि पूरा प्रयास गरेका छन् । त्यसकारण उनकोे बहादुरीप्रति हामी भित्रैदेखि आभारी छौँ ।’ उत्तर कोरियाको आधिकारिक संचार केसिएनएले क्येग्वानको सो बायनबारे उल्लेख गरेको हो । यसका साथै उनले सबैतिर चर्चा भइरहेको ‘ट्रम्प फर्मुला’ बाट पनि उत्तर कोरियाले धेरै अपेक्षा गरेको हुनाले बैठक रद्द भएकामा धेरै पछुतो लागेको बताए । तरपनि क्येग्वानले वार्ताको वातावरण बिग्रिनका पछाडि भने अमेरिका पनि उत्तिकै जिम्मेवार रहेको ठहर गरेका हुन् । उनका अनुसार पछिल्ला दिनहरुमा उत्तर कोरियाका तर्फबाट आएका कडा बयान अमेरिकी व्यवहारको प्रतिक्रियामा रहेको थियो । यसअघि ट्रम्पले भने उत्तर कोरियाको रुष्ट व्यवहारका कारण बैठक रद्द गराउनु परेको उल्लेख गरेका थिए ।

तर दुवै पक्षबीच एक्कासि देखिएको यस्तो आचरणले अहिले बैठक झनै आवश्यक रहेको संकेत दिइरहेको उनको भनाइ छ । त्यसैले समस्या समाधानका लागि उत्तर कोरिया कुनैपनि समय अमेरिकासँग छलफल गर्न र वार्तामा आउन तयार रहेको उनले बताएका हुन् ।  जुन १२ मा तय उक्त बैठक त्यही मितिमा सम्पन्न भएको भए उत्तर कोरियाली शाषक र अमेरिकी राष्ट्रपति बीचको यो इतिहासकै पहिलो अन्र्तक्रिया हुने थियो । यसरी ट्रम्पले सम्मेलन रद्द गराउनुको केही घण्टा अगाडि मात्र उत्तर कोरियाले चाहिँ आफूले वचन दिए अनुसार आणविक परीक्षण स्थल नष्ट गरेको उल्लेख गरेको थियो ।

अमेरिकी प्रशासनका अधिकारीहरुले भने उत्तर कोरियामा गम्भीरताको कमी देखिएकाले विश्वास गर्न नमिलेको बताएका हुन् । सिंगापूरमा आफ्ना वरिष्ठ अधिकारी आगामी सम्मेलनको तयारी गर्न पुग्दा प्योङयोङबाट भने कोही सम्पर्कमा नआएको र आफूहरुलाई मात्र दिनभर कुराएर राखेको उनको भनाइ छ । तर उता अमेरिकी राज्य सचिव माइक पोम्पेओले भने शुक्रबार पनि आफूसँग सहकार्य गरिरहेका उत्तर कोरियाली अधिकारीसँग फोनवार्ता गरि अझै बैठकका लागि उचित वातावरण सिर्जना गर्ने प्रयास जारी राख्ने बताइरहेको दक्षिणको विदेश मन्त्रालयले जनाएको छ ।

Shares

Be the first to comment on "उत्तर कोरिया ट्रम्पसँग कुनैपनि बेला कुरा गर्न तयार !"

Leave a comment

Your email address will not be published.


*