कहाँ छन् उत्तर कोरियाली नेता किम जोङ उन ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन लामो समयदेखि सरकारी सञ्‍चारमाध्यममा अनुपस्थिति रहेपछि उनको स्वास्थ्य स्थितिका विषयलाई लिएर विभिन्‍न हल्लाहरु फैलाइएका छन् । बाबुको मृत्युपछि सन् २०११ मा सत्ता सम्हालेका तेस्रो पुस्ताका नेता किमपछि आणविक सशस्त्र राष्ट्र उत्तर कोरियाको नेतृत्व कसले गर्ने भन्‍ने कुरा देखिने गरी कुनै व्यक्ति अघि सरेको छैन ।

कोरोना भाइरसको त्रासका कारण किमले आफूलाई आइसोलेट गरेका छन् अथवा गम्भीर रोग वा चोटका कारण उनको अनुपस्थिति बढेको हो भन्‍नेजस्ता अनुमानहरु विभिन्‍न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले गरेका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्‍चामाध्यमहरुले ‘किम जोङ उनको मृत्यु भएको हल्ला’ लगायतका शीर्षकमा समाचारहरु लेखेका छन् भने सामाजिक सञ्‍जालमा विभिन्‍न मुलुकमा #KIMJONGUNDEAD ह्‍यासट्याग ट्रेन्डिङमा आएको छ ।

३६ वर्षीय किम विभिन्‍न विषयका लागि उत्तर कोरियाली सरकारी सञ्‍चारमाध्यममा आइरहने भए पनि लामो समयदेखि उनी मिडिया कभरेजमा छैनन् । सन् २०१४ मा पनि उनी करिब एक महिनाभन्दा लामो समय उत्तर कोरियाली मिडिया कभरेजबाट बाहिरिएका थिए । पछि उत्तर कोरियाली टेलिभिजनले उनी लंगडोजस्तो भएर हिडिरहेको देखाएको थियो ।

वासिङ्‌टन डिसीस्थित उत्तर कोरियाली अनुगमन परियोजना, ३८ नर्थले सार्वजनिक गरेको स्याटेलाइट टेलिभिजनमा किम एक ट्रेनमा गएको देखिएका थिए । उक्त ट्रेनमा देखिएका उन नै भएको अनुमान गरिए पनि शतप्रतिशत उनी नै भएको भने दाबी गरिएको थिएन ।

उक्त ट्रेन २१ अप्रिल र २३ अप्रिलमा वनसनस्थित लिडरसिप स्टेसनमा पार्क गरिएको थियो भने किमको परिवारको प्रयोजनका लागि प्रयोग गरिएको ३८ नर्थले जारी गरेको रिपोर्टमा भनिएको थियो ।

किन भए अनुमानहरु ?

किम यो वर्ष हजुरबुबाको जन्म दिनमा अनुपस्थिति रहे । किमले यसअघि यो अवसर कहिल्यै छुटाएका थिएनन् । उनी त्यहाँ उपस्थित नहुँदा यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालियो ।

यससँगै उनी किन उपस्थित भएनन् भनेर विभिन्‍न अनुमानहरुका साथ भ्रम सिर्जना गरिए । किम १२ अप्रिलमा पछिल्लो पटक सरकारी मिडियामा आएका थिए । त्यसअघि ११ अप्रिलमा मुख्य राजनीतिक बैठकको अध्यक्षता गरेका थिए । त्यसपछि उनी सरकारी सञ्‍चारमाध्यममा देखिएनन् ।

गत साता गरिएको मिसाइल परीक्षणमा समेत किमको उपस्थितबारे त्यहाँका सरकारी मिडियाहरुले पनि कतै उल्लेख गरेका छैनन् । यसअघिका अधिकांश मिसाइल प्रक्षेपणमा उनी देखिन्थे ।

यी महत्त्वपूर्ण अवसरमा किम उपस्थित नहुँदा उनी नेतृत्वबाट बाहिरन लागेका हुन् कि भन्‍ने अनुमानहरुसमेत लगाइएको थियो । उत्तर कोरियाका आन्तरिक कुराहरु सहजै बाहिर आउँदैनन् । यसपटक त झनै महामारीका कारण जनवरीदेखि नै उत्तर कोरियाले सीमा नाका बन्द गरेको छ ।

मिडिया रिपोर्टहरु के भन्छन् ? 

सिओलस्थित डेली एनके अनलाइनले एक गोप्य स्रोतलाई उदृत गर्दै उत्तर कोरियाली नेता राजधानी प्योङयाङबाट उत्तरतर्फ रहेको ह्याङसान प्रान्तमा किमको उपचार भइरहेको उल्लेख गरेको थियो । २२ अप्रिलमा उनको मुटुको सर्जरीपछि त्यहाँ अस्पतालको निगरानीमा राखिएको बताइएको छ । मोटोपन, अत्यधिक चुरोट सेवन र थकानका कारण उनको मुटुका समस्या आएको डेली एनकेले उल्लेख गरेको थियो ।

सीएनएनले एक जानकार स्रोतलाई उदृत गर्दै किम ‘गम्भीर खतरा’मा भएको उल्लेख गरेको थियो । रोयर्टसले दक्षिण कोरियाली सरकारी स्रोतलाई उदृत गर्दै उक्त समाचारको खण्डन गरेको थियो ।

रोयटर्सले उक्त अवस्था बुझेका तीनजनलाई उदृत गर्दै चीनले चिकित्सकसहितको टोली उत्तर कोरिया पठाएको उल्लेख गरेको थियो । ट्रम्प प्रशासनलाई उदृत गर्दै रोयटर्सले किमको अवस्था बारे उत्तर कोरियाली मिडियाको मौनताले उनीप्रतिको चासो बढाएको उल्लेख गरेको थियो ।

एनकेको रिपोर्टहरुलाई आधार बनाएर अन्य मिडियाहरुले किम वनसन क्षेत्रमा रहेको उल्लेख गरेका थिए ।

शुक्रबार दक्षिण कोरियाली खुफिया स्रोतलाई उदृत गर्दै दक्षिण कोरियाली वेबसाइट न्युजिसले वनसनमा किमका लागि विशेष ट्रेनको व्यवस्था गरिएको र किमको निजी विमान प्योयाङमै रहेको उल्लेख गरेको थियो । न्युजिसले किम कोभिड-१९ को त्रासका कारण वनसनमा आइसोलेट भएर बसेको उल्लखे गरेको थियो ।

अन्य मुलुकको प्रतिक्रिया के छ ? 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार किम बिरामी भएको खबरहरु गलत भएको बताएका थिए । उनले भनेका थिए, “किमसम्बन्धीका रिपोर्टहरु गलत भएको मलाई लागेको छ ।” तर, उनले आफू उत्तर कोरियाली अधिकारीहरुसँगको सम्पर्कमा रहेको अथवा नरहेको भने खुलाएनन् ।

लामो समयदेखि आणविक निशस्त्रीकरण गराउन पहल गरेको अमेरिकाका राष्ट्रपति ट्रम्पले किमलाई तीनपटक भेट गरेका थिए ।  मंगलबार दक्षिण कोरियाले पनि किमसम्बन्धीका रिपोर्टहरु गलत भएको प्रतिक्रिया दिएको थियो ।  गत साता गरिएको मिसाइल परीक्षणमा समेत किमको उपस्थितबारे त्यहाँका सरकारी मिडियाहरुले पनि कतै उल्लेख गरेका छैनन् । यसअघिका अधिकांश मिसाइल प्रक्षेपणमा उनी देखिन्थे ।

अलजजिरा र एजेन्सीको सहयोगमा

Shares

Be the first to comment on "कहाँ छन् उत्तर कोरियाली नेता किम जोङ उन ?"

Leave a comment

Your email address will not be published.


*