कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

SAMSUNG CSC

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, साउन २९
दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल अफ डेमोक्रेसी दोलखाले जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो । भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङ, तामाकोसी गाउँपालिकाका उपाध्यक्ष सृजना सुवेदी सहित स्थानीय तहका वडाध्यक्षहरूलाई सम्मान गरिएको छ । उहाँहरूलाई नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्मा, स्कुल अफ डेमोक्रेसी केन्द्रीय अध्यक्ष नैनसिंह महर र नेपाली कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले अबिर, खादा र सम्मानपत्रले सम्मान गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सचेतक मीन विश्वकर्माले जनप्रतिनिधिले शासकको रुपमा नभई एक असल अभिभावकको जिम्मेवारी वहन गर्न आवश्यक रहेको सुनाउनु भयो । उहाँले नेपाली कांग्रेसबाट जितेका जनप्रतिनिधिहरूले असल र परिणाममुखी काम गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै ठूला योजनालाई क्रमशः अघि बढाउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने, जनतालाई फाइदा हुने कामलाई तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले अन्य पार्टीबाट जितेकाको भन्दा राम्रो काम गरी जनताको मन जित्न आवश्यक रहेको सुनाउनुभयो ।
स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले जनताको प्रिय बन्ने उद्देश्यले काम गर्न जनप्रतिनिधिले सधैँ क्रियाशील हुनपर्ने बताउनुभयो । जनप्रतिनिधिले आफ्नो स्वार्थलाई त्यागेर जनताको हितमा काम गर्नुपर्ने उहाँको जोड थियो । उहाँले स्कुल अफ डेमोक्रेसी सिक्ने र सिकाउने विद्यालय भएकोले यसले सधैँ उद्देश्य अनुरूप नै काम गरिरहेको जानकारी दिनुभयो । नेता कुन्दनराज काफ्लेले स्थानीय सरकारको प्रत्याभूति दिने गरी काम गर्न जनप्रतिनिधिहरूलाई अनुरोध गर्नुभयो । उहाँले नेपाली कांग्रेस सरकारमा होस्, या नहोस्, सदैवमा जनताको पक्षमा काम गरिरहेको सुनाउनुभयो ।

कार्यक्रममा डा. रुद्र शर्माले संघीयताको कार्यान्वयन र स्थानीय सरकार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले ऐन, नीति, कानुनको जानकारी दिँदै जनप्रतिनिधिको काम, कर्तव्य अधिकारको बारेमा प्रशिक्षण दिनुभएको छ । उहाँले जनप्रतिनिधिले इच्छाशक्ति, क्षमता, स्रोतसाधन, जनशक्ति र बजेटमा सुशासन कायम गर्दै त्यसको परिचालनबाट प्रभावकारी कार्य गर्न सकिने उपायहरू समेत जानकारी दिनुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम उपयोगी रहेको र यसले जनप्रतिनिधिद्वारा सम्पादन तथा सम्पन्न हुने काममा प्रभाव देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले यसअघिका जनप्रतिनिधिबाट पनि अनुभव ग्रहण गर्दै कार्यशैलीलाई सबल बनाउन सकिने बताउनुभयो । स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति बर्मा लामा सहित जिल्ला स्तरीय नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

SAMSUNG CSC
Shares

Be the first to comment on "कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण"

Leave a comment

Your email address will not be published.


*