क्रिश्चियन धर्म प्रचारमा विद्यार्थी प्रयोग,गाउँपालिकाबाट उपहार वितरणमा रोक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ध्रुव आचार्य
भैंसे, १८ बैशाख
दोलखाको शैलुङ गाउँपालिमा वडा नं. ८ भैसेमा क्रिश्चियन धर्म प्रचारमा विद्यालयका बालबालिका प्रयोग भएको पाइएको छ । मंगलबार निकै तामझामका साथ सारादा माविको भवन उद्घाटन भयो । भवन उद्घाटनका लागि आयोजकले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर उपराष्ट्रपति नन्दबहादुर पुन उपस्थित गराइयो ।
भवन उद्घाटन कार्यक्रमको बारेमा अग्रिम रुपमा कार्यक्रम तालिका सार्वजनिक गरियो । तर अप्रत्यासित रुपमा कार्यक्रम तालिका बाहिरबाट विद्यार्थीहरुलाई क्रिश्चियन धर्म प्रचार सामग्री वितरण गरियो । जुन उपराष्ट्रिपति नन्दकिशोर पुनकै हातबाट विद्यार्थीलाई उपहारभन्दै वितरण गर्न लगाए । जब यसको बारेमा बाहिर थाहा भयो कि भित्र क्रिश्चियन धर्म बारेका सामग्री समेत राखिएको भन्ने ।
कार्यक्रमको अन्तमा शैलुङ गाउँपालिका वडा नंं. ८ का हरेक विद्यार्थीहरुलाई दिने गरी २१ लाख बढीको उपहार दयाका हातहरु नामक एक गैर सरकारी संस्थाले ल्याएको हो । उसले सो वडाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई वितरण गर्नका ल्याएको हो । नमूनाका रुपमा चिठ्ठा हानेर प्रत्येक विद्यालयका एक÷एक जना विद्यार्थी छनौट गरी ८ जनालाई उपराष्ट्रपतिबाटै वितरण गरियो ।
उपहारलाई फ्रि करमा ल्याइएका सामान एक जनालाई वितरण गर्ने उपहारको मूल्य एक हजारभन्दा बढी हुने दयाका हातहरु नामक संस्थाका परियोजना व्यवस्थापक शान्तकुमार भण्डारीले जानकारी दिए । उपहार सरकारकै स्वीकृतिमा वितरण भएको र त्यसमा कुनै धर्मको प्रचार सामग्री नराखेको उनले दाबी गरे । बाहिरबाट आएको उपहार वितरण गरेको र हरेक विद्यार्थीलाई फरक फरक हुन सक्ने भएकाले केके छ भन्ने आफूलाई समेत जानकारी नभएको भण्डारीले बताए ।
उपराष्ट्रपतिले नियमित तालिका अनुसार आफ्नो मन्तव्य राखेपछि कार्यक्रम सञ्चालिकालाई समेत पछाडी हटाएर भण्डारी आफैंले उपहार वितरणको बारेमा जानकारी दिए । उनका अनुसार शैलुङका ८ विद्यालयका २ हजार बढी विद्यार्थीलाई ति उपहार वितरण गर्ने कार्यक्रम छ । विद्यार्थीलाई सानो बाकसमा दिएको उपहार भित्र म्यारी क्रिसमस लेखिएका पुतली, सान्टा ह्याट, सिसाकलम, सानो डायरी लगायतका ८ किसिमका सामग्री थिए । विगतमा पनि सारादा माविमा दयाका हातहरुले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार भित्र बाइबल र क्रिश्चियन धर्म सम्बन्धि सामग्री राखेर दिएका स्थानीयहरुले बताए ।
उपहार वितरण गर्दा सुरक्षाकर्मीलाई समेत झुक्याएको पाइएको छ । ‘नियमति कार्यक्रमभन्दा बाहिरको भएकाले हामीलाई पनि जानकारी दिएन’ उपराष्ट्रपतिका एक सुरक्षा अधिकारीले भने ‘उपहार वितरण हुने बेला कस्तो हो भनेर सोध्दा उनीहरुले एउटा खोलेर देखाए तर पछि अर्कै वितरण पो गरेछन् ।’

गाउँपालिकाबाट उपहार वितरणमा रोक
कलिला विद्यार्थीहरुलाई उपहारका नाममा धर्म प्रचार सामग्री राखेर वितरण गरेको सार्वजनिक भए लगत्तै शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले तत्कालका लागि बाँकी उपहार वितरण रोक्न निर्देशन दिएका छन् । उनले विद्यालय व्यवस्थापन समितिसँग थप छलफल नगरी उपहारका नाममा बालमनोविज्ञानलाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न र उपहार सामग्री वितरण गर्न रोक्ने वडा अध्यक्ष रामेश्वर उप्रेती मार्फत निर्देशन दिएको उनले बताए ।
‘कार्यक्रमका बारेमा हामीलाई कुनै पनि जानकारी जानकारी नै नभएका कार्यक्रम झुक्याएर उपहार वितरण गरे’ उनले भने ‘सानो सहयोगका नाममा झुक्याएर अनावश्यक गतिविधि गर्नेहरुलाई आफ्नो गाउँपालिकामा काम गर्ने अब अनुमति पनि हुँदैन ।’

विद्यालय भवन हस्तान्तरण
उपराष्ट्रपति पुनले सारादा माविको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उनले भवन उद्घाटन गर्दै शैलुङको सडक सुधार, पर्यटन विकासका लागि सरकारलाई ध्यानाकार्षण गर्ने बताए । शैलुङ सुन्ने वित्तिकै कुन्ती मोक्तानले गाएको ‘माथि माथि शैलुङ्गेमा…’ बोलको गीतको प्रशंग उच्चाहरण गर्दै शैलुङको बारेमा गीतमै सम्पूर्ण वर्णन गरेकाले अब यसको पर्यटन विकासमा लाग्नु पर्ने बताए ।
‘भुकम्पले घर भत्किए पनि मन भत्किएको छैन ।’ उनले भने । भुकम्पले क्षति पु¥याएको लामो समयसम्म पीडितहरु अस्थायी टहरामा बस्न बाध्य हुनु लाजमर्दो भएको बताए । शैक्षिक संस्थाका भवन र निजी घर चाँडो बनाउन सरकारको ध्यानाकर्षण समेत गराए । ‘शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु हुन्न’ उनले भने ‘सामुदायिक विद्यालयको गुणस्तर खस्कदो छ, अब बालबालिकालाई व्यवहारिक र वैज्ञानिक शीक्षा आवश्यक छ ।’
शैलुङ पालिका अध्यक्ष भरत दुलालले शैलुङ कृषिमा आलु र पर्यटनमा प्रकृतिले नै उपहार दिए तापनि सडकको अवस्था दयनिय भएको बताए । शैलुङको विकास हुँदा सिंगो देशले समेत लाभ लिने हुँदा सरकारले यसमा ध्यान दिनु पर्ने माग गरे ।
१२ कोठे २ वटा विद्यालय भवन, अपाङ्गमैत्री शौचालय निर्माणका लागि २ करोड ५० लाख खर्च भएको जानकारी आयोजकले गराएका थिए । भुकम्प लगत्तै स्थानीय चर्चको आव्हानमा राहत वितरण गरेको प्रशंग कोट्याउँदै दयाका हातहरु नामक संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीले त्यसैको श्रृखला अन्र्तगत विद्यालय भवन पनि निर्माण गरेको बताए । विद्यालय भवन निर्माणका लागि सिंगापुर रेडक्रस सोसाइटीले सहयोग गरेको हो ।
विद्यालयलाई १२५ थान डेक्स बेन्च, १५ थान कम्प्युटर समेत विद्यालयलाई सहयोग गरेको जानकारी दिइयो । उपराष्ट्रपतिले उद्घाटन गरेको कार्यक्रम विद्यालयको नभएर पूरै गैससको मात्र जस्तो देखिएको थियो ।

Shares

Be the first to comment on "क्रिश्चियन धर्म प्रचारमा विद्यार्थी प्रयोग,गाउँपालिकाबाट उपहार वितरणमा रोक"

Leave a comment

Your email address will not be published.


*