चिन्ता भोकमरीको

ताजा समाचारको लागि फलो गर्नुहोस ।

लक्ष्मण प्रसाद खतिवडा

शारीरिक र मानसिक अवस्था सक्रिय राख्नको लागि खाद्यान्न आधारभूत आवश्यकता हो । खाद्यान्न उत्पादन गर्न जमिनको साथसाथै जनशक्तिको आवश्यकता पर्दछ । नेपालमा कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिन भएपनि सबै व्यक्तिलाई आवश्यकता अनुसारको खाद्यान्न उपलव्ध हुन सकेको छैन । कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउन नसकिएको कारण हामी अहिलेसम्म मौसमी खेतिमानै भर पर्नुपरेको छ । कृषिमा आवद्ध जनसंख्याले कृषिबाट जेनतेन निर्वाह त गरेका छन् तर जीवन सहज बनाउन सकेका छैनन् । जसले गर्दा धेरैजसो मानिसहरु कृषिबाट पलायन हुन थालेका देखिन्छन् ।
कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको र बहुसंख्यक जनसंख्या आबद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मूल आधार नै हो । नेपालले आर्थिक वर्ष २०७३।०७४ मा कृषि विकास रणनीति कार्यान्वयनमा ल्याई सन् २०३५ सम्ममा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको देखिन्छ । तर हालसम्म सामुहिक रुपमा व्यवसायिक खेती खासै गर्न सकिएको छैन । खाद्यान्नमा आत्मनिर्भर हुन नसक्दा अहिले पनि हामीले वर्षको खर्बौ रुपैया खाद्यान्न आयातमा खर्च गरिरहेका छौँ । हाल माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण खाद्यान्न निर्यात गर्ने देशहरुले कृषि उत्पादनको निकासीमा बन्देज लगाए भने हामीलाई ठूलो समस्या निम्तन सक्छ । अब पनि हामीले बाझो खेतबारीमा खाद्यान्न नउव्जाउने हो भने हामी भोकै मर्ने अवस्था आउनेछ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण दैनिक गरिरहेको कामकाज ठप्प भएको छ । दैनिक मजदुरी, कलकारखाना, उद्योग-धन्दा, व्यापार-व्यवसाय, पर्यटन सबै क्षेत्र बन्द भएका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरु बेरोजगार भएर अलपत्र पर्न थालेका छन् । पर्यटन क्षेत्र र वैदेशिक रोगजार अर्थतन्त्रको स्रोत भएको हाम्रो मुलुकको लागि त यी क्षेत्र बन्द हुँदा करोडौ मानिसहरुले आम्दानीको स्रोत गुमाउँनेछन् । जसले गर्दा आयातित खाद्यान्नको मूल्य र पहुँचमा ठूलो समस्या आउनेछ । अब हामीलाई कोरोनाले भन्दा भोकमरीले बढी समस्यामा पार्ने देखिन्छ । त्यसैले भोकमरीबाट बच्न कृषि उत्पादन बढाउन जरुरी छ । यहाँको जमिनमा सबै प्रकारका अन्नबाली, तरकारी र फलफूल उत्पादन हुने हुनाले अब कृषिकर्ममा लाग्नुको विकल्प छैन ।
नेपालको संविधान २०७२ ले सबै नागरिकहरुलाई खाद्य अधिकार सुनिश्चित गरेको छ । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रले समेत सन् २०३० सम्म विश्वभरबाट भोकमरी अन्त्य गर्ने अठोट लिएका छन् । तर कोरोना भाइरसको कारण अधिकांश देशहरुमा खाद्यवस्तुको उत्पादन तथा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव हुने देखिन्छ । खाद्यान्न कहाँबाट आउँछ । आज रोगको डर छ भोलि भोकमरीको डर हुनेछ । जग्गा हुनेहरुले त खेती गरेर उव्जाएर खालान् तर नहुनेहरुले के गर्लान् सोचनीय विषय बनेको छ ।
नेपालले वर्षेनी करिब सवा खर्ब रुपैयाका कृषिजन्य वस्तु आयात गर्ने गरेको नेपाल राष्ट्र बैकको तथ्याङ्कले देखाउँछ । अथाह सम्भावना हुँदाहुँदै खाद्यान्न आयात गर्नुपर्ने हाम्रो लागि पक्कै पनि उपयुक्त होइन । अब जमिनको चक्लाबन्दी र बाँझो जमिनको उपयोग गर्नुपर्दछ । कृषिमा यान्त्रिकीकरण गरी बाँझो जमिन कृषिको लागि उपयोग गर्न नसकेकै कारण यो समस्या आएको हो । एकातिर शहरीकरणको कारण शहरी क्षेत्रको खेतीयोग्य जमिन मासिने क्रम बढिरहेको छ भने अर्कोतिर वर्षेनी बाढी-पहिरो तथा डुवानको कारण खाद्यान्न उत्पादन घटिरहेको छ । त्यति मात्र कहाँ हो र खेतीपाति लगाउने समयमा आवश्यक बिउ, बिजन तथा मल समेत पाउन नसकिएको वर्तमान अवस्थामा कृषि उत्पादन भएन भने कोरोनाभन्दा भोकमरीको पीडा भयानक र डरलाग्दो हुनेछ । त्यसैले सरकार समस्याप्रति संवेदनशील भई समस्या समाधान गर्ने कार्यमा सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

Shares

Dikshan Online TV

Be the first to comment on "चिन्ता भोकमरीको"

Leave a comment

Your email address will not be published.


*