चैत आउँदैछ,तामाकोसीआयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म सेयर जारी गर्ने तयारी गरेको हो ।
माघ अन्तिमसम्म धितोपत्र बोर्डको स्वीकृति आइसक्ने र फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र सेयर संकलन गर्ने आन्तरिक तयारी रहेको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
आयोजना निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेड’ले २ करोड ६४ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । त्यसमध्ये स्थानीयलाई १ अर्ब ५ करोड र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ सेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमति यसअघि नै भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए । उनले भने, ‘आयोजना निर्माणका क्रममा भएको प्रभावका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार सेयर लगानीको अवसर दिइनेछ ।’
पूर्वसहमतिअनुसार आयोजनाका मुख्य संरचनाहरू रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई क वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ख वर्ग र अन्य जिल्लावासीलाई ग वर्गमा वर्गीकरण गरिएको छ ।
ग वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता सेयर लगानी गर्न पाएमा क वर्गकाले १ सय ५० कित्तासम्म सेयर खरिद गर्न सक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै २ अर्ब ५४ करोडबराबरको सेयर जारी गरिसकेको छ ।
क–कसले पाउँछन् सेयर
दोलखावासीमध्ये सेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्मदर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाणपत्रका आधारमा सेयर पाउँछन् । त्यस्तै, दोलखा जिल्लावासीले नागरिकता प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।
सेयर दिने प्रयोजनका लागि जिविस दोलखाले ३ वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । तामाकोसीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाहरूले पनि सेयर खरिद गर्न पाउने व्यवस्था छ ।
स्थानीयहरुले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । धितोपत्र ऐन २०७३ अनुसार सेयर खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य हुनु पर्छ । तर सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा तामाकोसीका लागि बैंक खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताए । उनले जिल्लाबासीहरुलाई आफ्नो पायक पर्ने बैंकमा पुगेर बैंक खाता खोल्न समेत सबैलाई आग्रह गरे ।
माथिल्लो तामाकोसीको सेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो ।

Shares

Be the first to comment on "चैत आउँदैछ,तामाकोसीआयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने"

Leave a comment

Your email address will not be published.


*