जब नगरप्रमुख मानन्धर “बाउसे” बन्नुभयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १५
दोलखामा उत्साह र खुशीका साथ रोपाइँ महोत्सवका आयोजना गरी १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ । धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा भीमेश्वर नगरपालिका र भीमेश्वर आग्रेनिक एग्रिकल्चर एण्ड रिचर्स प्रालिले संयुक्त रुपमा रोपाइँ महोत्सवको आयोजना गरेको थियो । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिक्रीमा आयोजित रोपाइँमा महोत्सवमा नगर प्रमुख ईश्वरनारायण मानन्धर लगायतको सहभागिता रहेको थियो । नगर प्रमुख मानन्धर बाउसे भएर रोपाइँमा सरिक हुँदा किसानहरू उत्साहित भएका थिए । कोही रोपाहार तथा कोही बाउसे भएपछि रोपाइँ सकिएको हो । रोपाइँको क्रममा सांस्कृतिक परम्पराको जर्गेनका निम्ति बेठी बाजा बजाइएको थियो । त्यसले पनि रोपाइँ महोत्सवलाई रौनकता प्रदान गरेको थियो । दही चिउराको स्वाद, बाजाको कर्णप्रिय ध्वनी, असारे भाका,  किसान तथा गैरकिसानको जमघट । महोत्सव उत्साहप्रद र अविस्मरणीय भएको सहभागीहरूले बताएका छन् ।


नगरप्रमुख मानन्धरले व्यवसायिक कृषिमा आकर्षण बढाउन, धान बालीको उत्पादन वृद्धि गर्नको लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । उहाँले किसानको साथमा स्थानीय सरकार रहेको प्रत्याभूतिका लागि आफू बाउसेको रुपमा रोपाइँमा सहभागी भएर किसानलाई सघाएको बताउनुभयो । किसानको अनेकौँ समस्या र पीडा सम्बन्धमा आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफू प्रत्यत्नशील हुने नगरप्रमुख मानन्धरले बताउनुभयो । किसानसँग एक दिन भएपनि रमाउन पाउँदा आफू खुशी भएको र किसानहरू पनि खुशी भएको बताउँदै नगर प्रमुख मानन्धरले आफ्नो कार्यकालभर किसानलाई खुशी राख्न प्रयत्न गर्ने उल्लेख गर्नुभयो । उहाँले किसानको माग र समस्या सम्बोधनका लागि नगरले विविध प्रकारका योजना बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । “नगर समृद्धिको आधार कृषि नै हो । त्यसैले यसको प्राथमिकता विषेश हुन्छ ।” उहाँले भन्नुभयो । उहाँले कृषिमा व्यावसायिकता र आधुनिकता अपरिहार्य रहेको सुनाउनुभयो । कृषि सम्मानित पेशा र कृषक सम्मानित व्यक्तित्व रहेको पनि उहाँले बताउनुभयो ।
अखिल नेपाल किसान महासङ्घको रोपाइँ कार्यक्रम
यसैबीच अखिल नेपाल किसान महासंघ दोलखाले धान दिवसको अवसरमा भीमेश्वर नगरपालिका वडा नं. ५ मा किराँतीछाप रोपाइँ कार्यक्रम आयोजना गरेको थियो । नेकपा एमाले निकट महासङ्घको आयोजनामा भएको कार्यक्रममा महासङ्घमा आबद्ध किसान तथा एमालेका नेताहरूको सहभागिता रहेको थियो । सम्पूर्ण मजदुरहरू एक हौ भन्ने नारा सहित किसान महासङ्घको धान रोपाइँ कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुभएको थियो ।  किसानहरूलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले रोपाइ कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अखिल नेपाल किसान महासंघ दोलखाको उपाध्यक्ष शान्त कुमार जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिवालय सदस्य केशव चौलागाईँ, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष तथा एमाले बागमती प्रदेश कमिटी सदस्य ईश्वरचन्द्र पोखरेल, नेता डबल पाण्डे, प्रदेश कमिटी सदस्य कालिका पाठक, भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, भिमेश्वर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष वासु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "जब नगरप्रमुख मानन्धर “बाउसे” बन्नुभयो"

Leave a comment

Your email address will not be published.


*