जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन

nabin jirel

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ २१
दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन भएको छ । एमडिजिपी डाक्टर देवेन्द्र गौतमको करार अवधि समाप्त भएको र नयाँ डाक्टर नियुक्त नभएपछि अस्पताल एमडिजिपी डाक्टर विहीन बन्न पुगेको हो ।
पालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहालले साउन २१ गतेदेखि अस्पतालमा एमडिजिपी डाक्टरको पद रिक्त भएको र पदपूर्ति हुन नसक्दा जटिल शल्यक्रिया सहित विशेषज्ञ सेवा प्रभावित भएको बताउनु भयो । “अस्पतालमा डाक्टर अभावका कारण विशेषज्ञ सेवा अवरुद्ध भएको छ । गत वर्षको फागुनदेखि सुचारु भएको शल्यक्रिया सेवा रोकिएको छ ।” जनस्वास्थ्य अधिकृत दाहालले भन्नुभयो, “अहिले अस्पतालमा आएका जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको छ ।”
अहिले अस्पताल स्वास्थ्यकर्मी सहित दुई जना मेडिकल अफिसरको भरमा सञ्चालन भइरहेको छ । जटिल किसिमको शल्यक्रिया र विशेषज्ञ सेवा प्रभावित भएपनि सामान्य शल्यक्रिया र अन्य सम्पूर्ण स्वास्थ्य उपचार सेवाहरू भने नियमित प्रवाह भइरहेको जनस्वास्थ्य अधिकृत दाहालले बताउनु भयो ।
अस्पतालमा करार सेवामा रहेका एमजिडिपी डाक्टरको करार अवधि सकिनु अगावै नयाँ डाक्टर नियुक्त गर्न प्रक्रिया सुरु गरिएको थियो । यसका लागि विज्ञापन गरेपछि दुई जनाको आवेदन दर्ता भएको थियो । दुई जनामध्ये डाक्टर अमरेन्द्रप्रसाद कुशवाहाको नाम छनौटमा परेको थियो । तर उहाँलाई अन्तर्वार्तामा सहभागी हुनुभएन ।
जनस्वास्थ्य अधिकृत दाहालले दुई जना आवेदकहरू बिच आपसी विवाद उत्पन्न भएपछि छनौटमा परेका आवेदकले अस्पतालमा अन्तर्वार्ताका लागि आउन अस्वीकार गरेको बताउनु भयो । “अस्पतालले अन्तर्वार्ताका लागि बोलाइएका आवेदक आउनुभएन । दुई आवेदकहरू बिच विवाद भएकोले छनौट भएका आवेदकबाट अन्तर्वार्तामा आउन नसकेको कुरा थाहा भएको छ । त्यसपछि अस्पतालमा नयाँ डाक्टर भर्ना प्रक्रिया रोकियो ।” उहाँले भन्नुभयो “एमडिजिपी डाक्टर नियुक्तिका लागि पुनः दोस्रो पटक विज्ञापन गर्न लागिएको छ ।” जिरी अस्पतालमा दोलखा र छिमेकी जिल्ला रामेछापका बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

Shares

Be the first to comment on "जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन"

Leave a comment

Your email address will not be published.


*