तामाकोशी सेयरले प्रदेशीलाई पनि फर्कायो ।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा,, १२ भदौ

गौरीशंकर गाउँपालिका वडा नं. १ राजपुका प्रकाश बस्नेत दशकपछि घर फर्किए । उनको नागरिकता जन्मस्थान दोलखा जुँगू भए पनि उनी रोजगारी र व्यवसायको सिलसिलामा २ दसशदेखि भारतको सिक्किम बस्दै आएका छन् ।
। सोही वडा चेत्पुका बीर्खबहादुर खड्का पनि गाउँ फर्किए । उनी ४ दसकदेखि गाउँको जग्गाजमिन समेत बेचेर तराई झरेका थिए । उनको आफ्नो नागरिकता दोलखाबाट भए तापनि उनको अरुको नागरिकता काठमाडौंबाट भए तापनि अहिले गाउँ सम्झेर फर्किए ।
सिक्किममै बस्ने लापिलाङका जगतबहादुर थामी हुल नै बाँधेर गाउँ फर्किए । उनी जस्ता लापिलाङका मात्र एक महिना भित्र ३ सय बढी सिक्मि बस्नेहरु गाउँ सम्झेर फर्किए । दोलखाबाट रोजगारी र पेशा व्यवसायका लागि बाहिर बस्नेहरु गाउँ फर्कनेहरुको लर्को नै छ ।
अधिकाँश आफूसँगै आफ्ना छोराछोरी पनि साथमै ल्याए । वडा कार्यालय पुगेर जन्म दर्ता गराए त कतिले नागरिकताको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय पुगे । यही मौकामा धेरैले पुनः नेपाली र दोलखाबासी नै भएको प्रमाण लिए ।
माथिका केही प्रतिनिधि पात्र मात्र हुन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर दोलखाबासीका लागि खुलेदेखि प्रदेशिकाहरु गाउँ फर्कनेहरु बढ्दो क्रममा छन् । स्थानीयका नामबाट सेयर आवेदन गर्न पाउँने भएपछि दोलखाबासी नै हुँ भनेर घर फर्कनेहरु बढेका छन् ।
स्वदेशी लगानीमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको आयोजनामा स्थानीयको तर्फबाट दोलखाबासीले १० प्रतिशत सेयर लगानीको अवसर पाएका छन् । सेयर लगानीका लागि जिल्लाभरका नागरिकले गएको साउन १६ गतेदेखि आवेदन गरिरहेका छन् । यही अवसर पारेर दोलखाबासी भएका र देशबाहिर भएकाहरु फर्कने क्रम जारी छ ।
सेयर आवेदन सुरु भए यता जिल्लाका राजनैतिक दलका नेताहरु, जनप्रतिनिधि र कर्मचारीहरुलाई विदेशबाट दिनहुँ फोन, र सामाजिक सञ्जालमा सोधनी बढेको छ । फोनमा आउने धेरैको जिज्ञासा हामीले सेयर पाउँछौं कि पाउँदैनौं, कति हाल्नु पर्छ भन्ने नै बढी छन् । “कतिले देश विदेशबाट फोन गर्छन् कतिले सामाजिक सञ्जाल मार्फत सोध्छन्” शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले भने “आजभोली धेरैलाई यसैको जिज्ञासा मेटाउँदै हैरान छु, सेयर भर्न पनि सहयोग गर्नै प¥यो ।”
घरै विर्सेकाहरुलाई समेत सम्झेर गाउँ फर्काउन सफल भएकोमा जनप्रनिधिहरु भने खुशी नै छन् । गाउँमा विर्सेकाहरु पनि अहिले सम्झेर आए खुशी लागेको विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काको भनाई छ । माथिल्लो तामाकोसीमा जिल्लाबासी र सर्वसाधारण नागरिकहरुको उत्साहले यस्ता आयोजना यही मोडेलमा बनाउन सरकारले अवधारणा बनाउनु पर्ने उनले बताए । “अब देशमा पुँजीको अभाव छैन, तामाकोसीमा देखिएको उत्साहले पनि प्रष्ट पार्छ” उनले भने “अब कुशल व्यवस्थापनका साथ गर्नेहरु भने देशका ठूलाठूला पूर्वाधारका काम स्वदेशी लगानीबाटै संभव भएको प्रमाणित भएको छ ।” सांसद विशाल खड्काले यो उत्साहले अब तामाकोसी पाँचौंमा ४९ प्रतिशत सेयर दोलखालीको हुनु पर्ने माग गर्ने बताए ।

सेयर भर्नै आर्थिक सहयोग
माथिल्लो तामाकोसीको सेयर भर्नबाट कोही नछुटुन् भनेर आर्थिक सहयोग समेत आउन थालेको छ । विगू गाउँपालिका वडा नं. ८ खोपाचागू जन्मेर अष्ट्रेलिया र हङकङमा व्यवसाय गर्ने दिपक खड्काले गाउँमै आएर गाउँभरीका लागि ३७ लाख नगद सहयोग गरे । उनले खोपाचागूका हरेक घरपरिवारलाई रु ५ हजारका दरले आर्थिक सहयोग गरे ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्कि शेर्पा र सांसदहरुलाई गाउँमै ल्याएर आर्थिक सहयोग बाँडेर फर्किए । उनले भुकम्प पीडितको लाभग्राही सुचीका आधारमा ७सय २९ परिवारलाई आर्थिक सहयोग गरे । तामाकोसीको सेयर राम्रो भएको र बीऊँ पुँजीको रुपमा लगानी गर्न आफूले सहयोग गरेको बताए ।
त्यस्तै बैतेश्वर गाउँपालिका वडा नं. २ का जनप्रतिनिधिहरुले आफूले पाउँने एक महिनाको मासिक पारिश्रमिक १३ जना सुकुम्बासी, अपाङ्ग र अति विपन्नलाई आर्थिक सहयोग गरे । कालिञ्चोक गाउँपालिकाले पनि सेयर हाल्न नसक्नेहरुका लागि सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष विनकुमार थामीले कोही सेयरबाट आफ्ना गाउँपालिका भित्रका नागरिक नछुटुन् भनेर आर्थिक अवस्था हेरेर नगदै सहयोग गर्न सक्ने बताए । उनले हरेकलाई भट्दा नै सेयर हाल्नु भो भनेर सोध्ने गरेका छन् ।
२८ दिन अघि खुलेको सेयरमा सोमबार साँझसम्म १ लाख ५६ हजार आवेदन परेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले दोलखा र काठमाडौंका संकलन केन्द्रबाट २ अर्ब ६४ करोड संकलन समेत भएको जानकारी दिए । ”बैंकहरु सबैले तथ्याङ्क दिनै सकेका छैनन्” उनले भने “शेयर आवेदन र रकम अझै बढ्न सक्छ, बैंकमा अत्याधिक भीड छ ।” दोलखामा २६ वटा केन्द्रबाट सेयर आवेदन संकलन भइरहेको छ । काठमाडांैमा समेत ११ वटा संकलन केन्द्रबाट १५ दिन सेयर आवेदन संकलन भएको थियो ।
दोलखा जिल्लाभित्र जन्मेर स्थायी बसोबास गर्ने र तिनबाट सेयर भर्ने अघिल्लो दिनसम्म जन्मेका बच्चाहरुले स्थानीय सेयर पाउँछन् । बसाइसराइ गरी आएको भए २०६४ माघ १५ सम्म आउनेहरु समेत दोलखाबासीको नामबाट सेयर लगानी गर्न पाउँछन् । दोलखाबासीका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको सेयर माग गरेको हो ।

Shares

Be the first to comment on "तामाकोशी सेयरले प्रदेशीलाई पनि फर्कायो ।"

Leave a comment

Your email address will not be published.


*