दोलखाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ ४
दोलखाका २२ हजार भन्दा बढी बालबालिकाको लागि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको छ । ५ वर्षदेखि ११ वर्ष सम्मका २२ हजार २ सय ४९ जना बालबालिकालाई कोरोना विरुद्धको पि फाइजर खोप लगाउने उद्धेश्यका साथ खोप अभियान सञ्चालन हुन लागेको हो ।
स्वास्थ्य कार्यालय दोलखाका अनुसार आइतबारदेखि सुरु हुने अभियान भदौ १५ गतेसम्म जारी रहने र लक्षित समूहका बालबालिकालाई पि फाइजरको पहिलो मात्रा खोप दिइने छ । स्वास्थ्य कार्यालय प्रमुख उत्तमराज खनालले बालबालिकालाई कोरोनाबाट बचाउन खोप प्रभावकारी र सुरक्षित रहेको बताउँदै भन्नुभयो “खोपले जीवन रक्षा गर्छ । यो सुरक्षित छ । त्यसैले आफ्ना बालबालिकालाई खोप लगाउनबाट नछुटाऔँ । धेरै समयको प्रतिक्षापछि बालबालिकाको लागि आएको यो अवसरको सदुपयोग गर्न अनुरोध गर्छौँ ।”
खनालले स्वास्थ्यकर्मी, खोप कार्यकर्ता लगायतलाई प्रशिक्षण दिनुका साथै खोपको उपलब्धता, व्यवस्थापन लगायका सम्पूर्ण तयारी पूरा भएपछि खोप अभियान सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा २३ हजार भाइल खोप उपलब्ध भएको छ । ५ गतेदेखि सुरु हुने खोप अभियान अन्तर्गत विद्यालय र तोकिएको स्वास्थ्य संस्थामा बालबालिकालाई खोप लगाइने छ । शिक्षक, महिला स्वास्थ्य स्वंयसेविका, जनप्रतिनिधिबाट खोप अभियानमा सहयोग गर्न आग्रह गरिएको छ ।
कार्यालय प्रमुख उत्तमराज खनालका अनुसार ५ देखि ९ गतेसम्म भीमेश्वर नगरपालिका, विगु, बैतेश्वर, शैलुङ र मेलुङ गाउँपालिका, ५ देखि ८ गतेसम्म गौरीशंकर गाउँपालिका, ६ देखि १० गतेसम्म कालिञ्चोक गाउँपालिका र १२ देखि १५ गतेसम्म जिरी नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ । बालबालिकाले लगाउन उमेर खुल्ने परिचयपत्र वा विद्यालयको सिफारिसपत्र साथमा लैजानपर्ने छ ।
कोहीकसैलाई खोप लगाइसकेपछि सामान्य प्रतिक्रिया देखिन सक्ने भएपनि त्यसमा डराइहाल्न नहुने कार्यालय प्रमुख खनालले बताउनुभयो । अहिले पनि कोरोना महामारी फैलिरहेकोले नडराई ढुक्क भएर खोप लगाउँदै कोरोनाबाट सुरक्षित रहनका लागि उहाँले अनुरोध गर्नुभयो । उच्च ज्वरो आएका र कोभिड संक्रमण भएको ३० दिन नपुगेका बालबालिकालाई भने खोप लगाउन मिल्दैन ।

Shares

Be the first to comment on "दोलखाका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइँदै"

Leave a comment

Your email address will not be published.


*