दोलखाको छ वटा मतदान स्थल परिवर्तन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असोज १०
मतदाताको सुविधाको लागि दोलखाको छ वटा मतदान स्थल परिवर्तन गरिएको छ । अव्यवस्थित, असुरक्षित र अपायक मतदान स्थललाई नयाँ, पायक र सुधिवायुक्त स्थानमा सारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाताको सघनता, सार्वजनिक जग्गाको उपलब्धता, भौतिक पूर्वाधार, बाटो तथा यातायातको सहज सुविधा, सुरक्षाको प्रबन्ध भएको र मतदातालाई पायक पर्ने स्थानमा साविकको मतदान स्थल स्थानान्तरण गरिएको हो ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समितिको सिफारिसमा निर्वाचन आयोगले मतदान स्थल स्थानान्तरण गर्न स्वीकृत गरेको र सोही अनुसार मतदानस्थल स्थानान्तरण एवं निर्धारण भएको निर्वाचन कार्यालयका प्रमुख एवं निर्वाचन अधिकारी शकुन्तला राईले बताउनु भयो । उहाँका अनुसार गौरीशंकर गाउँपालिकाको तीन, विगु गाउँपालिकाको दुई र बैतेश्वर गाउँपालिकाको एक वटा मतदान स्थल स्थानान्तरण गरिएको हो ।
गौरीशंकर गाउपालिका वडा नं. ६ स्थित वडा कार्यालयको मतदान स्थल चंखु स्वास्थ्य चौकीमा जयन्तीपुरमा, वडा नं. ८ खारे स्थित वडा कार्यालयमा रहेको मतदान स्थल खारे माविमा, वडा नं. ९ स्थित टासिनाम प्राविको मतदान स्थल टासीनाम आविमा कायम भएको छ । विगु गाउँपालिका वडा नं. ४ लादुक स्थित वडा कार्यालयमा रहेको मतदान स्थललाई चित्रे मावि र वडा नं. ६ आलम्पु स्थित वडा कार्यालयको मतदान स्थललाई थम्पु माविमा सारिएको छ । यस्तै बैतेश्वर गाउँपालिका वडा नं. ५ को विद्याप्रेमी नेशनल एकेडेमीमा रहेको मतदान स्थललाई वडा कार्याल्य भवनमा कायम गरिएको कार्यालय प्रमुख राईले बताउनु भयो । मतदानस्थल सहज, सुविधायुक्त र पायक बनाई अधिक मतदानका लागि मतदान स्थल फेरबदल तथा निर्धारण गरिएको हो । सारिएकासँगै जिल्लामा ९४ वटा मतदान स्थल रहेका छन् ।
दुई मतदान केन्द्र
जिल्लामा यसअघि एक सय ९३ वटा मतदान केन्द्र रहेकोमा अहिले दुई वटा थपेर एक सय ९५ वटा पु¥याइएको छ । निर्वाचन कार्यालय प्रमुख राईका अनुसार भीमेश्वर नगरपालिका वडा नं. ४ जिलु स्थित सेतिदेवी प्राविमा एक वटा र गौरीशंकर गाउँपालिका वडा नं. ८ खारे स्थित खारे माविमा एक वटा मतदान केन्द्र थप गरिएको हो । मतदाता संख्या बढेपछि केन्द्र थपिएको उहाँले बताउनु भयो । उहाँका अनुसार सेतिदेवी प्राविका लागि एक हजार ५० जना मतदात पुगेका छन्, भने खारे माविमा मतदान गर्नेको संख्या एक हजार ८४ पुगेको छ । जिल्लामा कुल मतदाता संख्या एक लाख ६१ हजार ४ सय ५० रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको छ वटा मतदान स्थल परिवर्तन"

Leave a comment

Your email address will not be published.


*