दोलखामा आयुर्वेदबाट २६ हजार बढीको उपचार

फाइल तस्बिर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन २४
कोरोना महामारी फैलिरहेको बेला सचेतना अभिवृद्धि र नागरिकको रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सक्रियता तारिफयोग्य थियो । आइसोलेसनको संक्रमितलाई तनाव व्यवस्थापन सम्बन्धी परामर्श र स्वास्थ्य लाभका लागि औषधी वितरण गर्नेदेखि स्वस्थ व्यक्तिको रोग प्रतिरोधि क्षमता वृद्धि हुने औषधी वितरण गरेर केन्द्रले प्रशंसा बटुलेको थियो । उक्त समयमा प्रशंसा बटुलेको केन्द्रले अहिले पनि आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै लोकप्रियता कायम राखेको छ । केन्द्रको विश्वास र लोकप्रियता बढेसँगै यहाँ आउने सेवाग्राहीको संख्या समेत बढ्न थालेको छ ।
केन्द्रका सूचना अधिकारी हरिनारायण महत्तोले दैनिक ५० जनासम्म बिरामी स्वास्थ्य परीक्षण, औषधोपचार एवं परामर्शका लागि आउने गरेका छन् । उहाँले कोरोना महामारीमा केन्द्रको सक्रियता, डाक्टर सहितका जनशक्ति व्यवस्थापन, प्याथोलोजी ल्याबको स्थापना र गुणस्तरीय सेवाको कारण केन्द्रप्रति नागरिकको आकर्षण बढेको बताउनुभयो । “केन्द्रबाट प्रवाह हुने सम्पूर्ण सेवाको गुणस्तरीयता र प्रभावकारिताले यहाँ नागरिकको आकर्षण बढ्दै गएको छ ” उहाँले भन्नुभयो “यसले केन्द्रका जनशक्तिलाई थप उर्जा दिएको छ ।” आयुर्वेदिक औषधीले तुलनात्मक रुपमा ढिलो तर स्थायी रुपमा राहत दिने भएकोले पनि यो उपचार पद्धति निकै प्रभावकारी रहेको र निशुल्क सेवा पाउने भएपछि यसमा नागरिकहरूको आकर्षण बढेको हो । सेवा विस्तारको क्रममा केन्द्रले केही दिन अघि फार्मेसी सेवा सुचारु गरेको छ । केन्द्रमा पाउने बाहेकका औषधीहरू फार्मेसीबाट सस्तो र सर्वसुलभ शुल्कमा वितरण गरिने छ । यस्तै अकुपञ्चर सेवाको विस्तारका लागि दुई लाख बराबरको सामाग्री खरिद गरी तयारी थालिएको छ । अबको केही महिनामा सो सेवा पनि सुचारु हुने सूचना अधिकारी महत्तोले बताउनुभयो । उहाँले केन्द्रबाट आयुर्वेद सम्बन्धी सम्पूर्ण सेवा विस्तार गर्ने योजना बनाइएको भएपनि पर्याप्त जग्गा नहुँदा समस्या भएको बताउनुभयो केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्नका लागि प्रदेश सरकारले बजेटको समेत सुनिश्चित गरेको छ । तर जग्गा नहुँदा अन्यौल भएको सूचना अधिकारी महत्तोले सुनाउनुभयो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका २६ हजार २ सय ३६ जनाले आयुर्वेद उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १६ हजार ८ सय ३६ र यस अन्तर्गतका चार वटा नागरिक आरोग्य केन्द्रबाट नौ हजार ४ सय जनाले स्वास्थ्य परीक्षण, औषधोपचार एवं परामर्श सेवा लिएका हुन् । सूचना अधिकारी महत्तोका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट स्वास्थ्य जाँच तथा औषधी सेवा ११ हजार २ सय ५८ जना,  पञ्चकर्म अन्तर्गतका सेवाहरू तीन हजार ४ सय ५० जना, स्तनपायी सेवा ३१ जना,  ज्येष्ठ नागरिक विषेश सेवा ६ सय ६५ जना, योग एक हजार तीन सय ४ जना, उपचारात्मक योग सेवा ९१ जनाले लिएका छन् । प्याथोलोजी ल्याबबाट दुई सय ६४ जनाले सेवा लिएका छन् । आयुर्वेद उपचार पद्धतिको उपचारमा नागरिकको पहुँच बढाउने उद्देश्यले विभिन्न ठाउँमा गरी चार वटा आरोग्य केन्द्र सञ्चालन भइरहेको छ । बिगु गाउँपालिकाको वडा नं. ४ स्थित सिंगटी, शैलुङ गाउँपालिका वडा नं. ३ स्थित काटाकूटी, तामाकोशी गाउँपालिका वडा नं. ३ स्थित छौँडे र गौरीशंकर गाउँपालिकाको सुरीमा नागरिक आरोग्य केन्द्र रहेको छ ।  यी सेवा केन्द्रबाट आरोग्य केन्द्रहरुमा एक कविराज÷बैद्य र एक जना सहयोगीले बिरामीको स्वास्थ्य परीक्षण, औषधी वितरण तथा योगाभ्यास लगायतका सेवा निशुल्क प्रदान गरिरहेका छन् । गत आर्थिक वर्ष चार वटै आरोग्य केन्द्रबाट नौ हजार चार सय जनाले सेवा लिएका छन् । जसमा छौँडे केन्द्रबाट तीन हजार ८ सय ५०, सिंगटीबाट दुई हजार ४ सय ५०, शैलुङ काटाकुटीबाट दुई हजार तीन सय १५, सुरी केन्द्रबाट सात सय ८५ जना रहेका छन् । आरोग्य केन्द्रमा बेलाबेलामा औषधी अभाव हुने गरेकोले त्यसो हुन नदिन जिल्ला आयुर्वेद केन्द्रले स्थानीय सरकारको सहयोग माग गर्नुका साथै आपूर्ति समेत बढाएको छ । मुख्यतया केन्द्रमा जोर्नी दुख्ने, हातखुट्टा पोल्ने, उच्च रक्तचाप, पेट रोग, लगायत रोगको उपचारको लागी बिरामीहरु आउने गरेका छन् ।

Shares

Be the first to comment on "दोलखामा आयुर्वेदबाट २६ हजार बढीको उपचार"

Leave a comment

Your email address will not be published.


*