दोलखामा राहदानी बनाउने बढे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईस्वर विक
विदेशमा काम गर्न, पढ्न र घुम्न जानका लागि दोलखामा राहदानी बनाउने युवाहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा २ हजारभन्दा बढीले राहदानीका लागि आवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखामा आर्थिक वर्षको साउन महिना देखि कार्तिक १७ गतेसम्म २ हजार ४ सय ४१ जनाले राहदानी लिएका हुन् । असोज महिनामा विषेश गरि अमेरिका जाने चिठ्ठा (डिभी) भर्न र बैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्या धेरै रहेको कार्यालयले जनाएको छ । साथै कतिपयले बैदेशिक भ्रमणका लागि पनि राहदानी बनाउने गरेको कार्यालयले जनाएको छ । राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाको पुगेका सुनखानीका रामकृष्ण शिवाकोटीले विदेशमा काम गर्न जानका लागि राहदानी बनाउन आएको बताए । उनले नेपालमा स्वरोजगार कार्यक्रम सरकारले गरेता पनि लामो समयसम्म रोजगार नदिएकाले आफु विदेशिनु बाध्य भएको उनले बताए । त्यसैगरि चरिकोटका उज्वल बस्नेतले भने पढानका लागि विदेश जान पासपोर्ट बनाउन लागेको बताए । कार्यालयबाट साधारण र दु्रत राहदानीका लागि आवेदन दिएका छन् । राहदानी आवेदन दिनेमा महिलाको तुलनामा पुरुष बढी रहेको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी, सूचना अधिकारी अलौख बहादुर आलेले बताए । ७ सय महिला र १ हजार ७ सय ५१ पुरुषले राहदानी लिएको उनले बताए । उनका अनुसार दु्रत राहदानीका लागि ३ सय ९४ महिला र ६ सय ९४ पुरुषले गरि १ हजार ८८ जनाले कार्यालयमा आवेदन दिएका छन् । त्यसैगरि साधारण राहदानीका लागि ३ सय ६ महिला र ६ सय ६३ पुरुष गरि ९ सय ६३ जना आवेदन दिएको कार्यालयले जनाएको छ । कतिपयले भने जिल्ला प्रशासन कार्यालय दोलखाबाट राहदानीका लागि सिफारिस लगेर काठमाडौँबाट पनि राहदानी लिने गरेका छन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा भने ३ हजार १ सय ७७ ले राहदानी लिएका थिए । गत वर्षको तुलनामा राहदानी लिनेको संख्या बढ्नुको मुख्य कारण बसोबासकै लागि डाइभर्सिटी भिसा (डिभी) को आवेदन फर्म खुल्नु रहेको कार्यालयले जनाएको छ । डिभी भर्नका लागि राहदानी बनाउन कार्यालयमा दैनिक १ सय भन्दा बढी मानिस आएका थिए ।

Shares

Be the first to comment on "दोलखामा राहदानी बनाउने बढे"

Leave a comment

Your email address will not be published.


*