नमूना गाउँ वन्यो यार्सा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

यार्सा (मिर्गे) –मिर्गे यार्सा कि दष्टिविहीन डोलमाया खत्री ३ वर्षपछि घर उठेपछि अत्यन्तै हर्षित भइन् । ३ वर्ष अघि भुकम्पले ढलेका घर उठेपछि आफ्नो जीवन जोखिमरहित रुपमा बाँच्नेमा उनी ढुक्क छिन् । मिर्गे यार्साका खत्री जस्तै सबैको मुहानर हँसिलो छ । घर बनाउँदा एकअर्कामा भएको सहयोगात्मक भावना अब यार्साको संस्कृतिको रुपमा विकसित हुँदै गएकोमा ८३ वर्षिय पासाङ शेर्पा खुशी व्यक्त गर्छन् ।
हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखारिएर घरहरु ठडिएका छन् । टाढैबाटै रङ्गीन जस्ताले सुन्दरता थपिएको दिएको छ । एउटै छानो, गाउँकै माटो र श्रम प्रयोग गरेर निकालिएको ईट्टाका जस्तै गाह्रो, एकै प्रकृतिका झ्याल ढोका प्रयोग गरेर बनेका छन् । भुगोलको बनावट अनुसार लहरै मिलेर बनेको समान डिजाईन्का घर, प्राय घर अगाडि फराकिलो आंगन ।
एकीकृत वस्तीको रुपमा घरहरु नबने पनि सबै घरहरु सडक आसपासमा बनेका छन् । भुकम्पपछि पुर्ननिर्माण भएका अधिकाँश घरहरु २ कोठे बने ततापनि यार्साका घर न्यूनतम् ३ कोठा र परिवारको संख्या अनुसार ४ कोठा र ५ कोठेसम्म बनेका छन् ।
गाउँमै निर्मित इट्टाबाट बनेका घरुहरु बाहिरबाट जति आकर्षक देखिन्छ । भित्र पनि उत्तिकै सुविधा सम्पन्न छन् । घरभित्रै व्यवस्थित शौचालय र बाथरुम, भान्सा कोठा छन् । हरेक कोठामा उत्तिकै प्रकाश छिर्ने व्यवस्था छन् । “घरहरु एकै नासको सुविधा सहित बनेपछि खुशी लागेको छ” स्थानीय दातेम्बा शेर्पाले भने “राम्रा घरले भुकम्प पनि विर्साएको छ, अब त हाम्रा घर पनि सहरका भन्दा कम छैन जस्तो लाग्छ ।”
अधिकाँश शेर्पा जातिको बसोबास रहेको यार्सामा ९९ घर बनेका छन् । यसबाट यार्साका सबैलाई घर पुगेको छ । लामोसाँघु–जिरी सडक खण्डमा अवस्थित दोलखाको मैनापोखरी बजारबाट ४ किलोमिटर यात्रा गरेपछि पुग्ने यार्सा वैत्येश्वर गाउँपालिका ३ स्थित मिर्गेमा पर्छ । गाउँभरी रहेका ४ सय ५० जनसंख्या केही क्षेत्री, नेवार र तमाङहरुको पनि बसोबास रहेको स्थानीय घर निर्माणमा सक्रिय स्थानीय शिक्षक तेन्जिङ शेर्पा बताउँछन् ।

एउटा समाचारले जुट्यो सहयोग

यार्सा छिटै पुर्ननिर्माण भएको थोरै गाउँ मध्येको एक हो । आर्थिक तथा सामाजिक रुपमा पछाडी परेको यार्साको व्यवस्थित पुनर्निर्माण यति छिटो र छरितो ढंगले सम्पन्न हुनुमा गाउँमा जन्मिएका एक पत्रकार र अमेरिकी नागरिक जोडिन्छन् । यार्सामै जन्मेका पत्रकार लक्ष्मण खड्काले भुकम्पपछिको चिसोले भुकम्पपीडितहरुको ज्यानै जानथालेपछि आफ्ना सञ्चारमाध्यममा समाचार लेखे । त्यसकै प्रभाव स्वरुप गाउँको रुप ने फेरियो । आफ्नो कलमको सहाराले गाउँ नै नमूना भएकोमा आफूलाई गर्व गर्छन् ।
समाचारको प्रभावले अमेरिकामा सामाजिक संस्था चलाउदै आएका व्यवसायी डाक्टर गेरी योङसम्म पुग्यो । उनको पहलमा गेरीको योङ लिभिङ फाउण्डेसन नामक संस्थाको सहयोगमा यार्साको मुहार फेर्न सहयोग गर्यो । फाउण्डेसनको सहयोगमा स्थानीय साझेदार सहिद परिवार समाज(फेमस)ले ति घरहरु बनाउँन सहयोग गरेको हो । खड्का फेमसका सचिव समेत हुन् ।
यार्सा पुनर्निर्माणका लागि ९ करोड रुपैंया लगानी गर्ने सम्झौता पुनर्निर्माण प्राधिकरण र फाउण्डेसनबीच भयो । तर पुर्ननिर्माण पूरा हुँदा ६ करोड मात्र खर्च भएको छ । खड्काका अनुसार २०७३ जेठबाट गाउँमा धमाधम पुन र्निर्माण शुरु गरियो। गेरी आफ्ना सहयोगी सहित टेन्ट बनाएर गाउँमा बसे ।
फाउण्डेसनले आफ्रिकाबाट अत्याधुनिक मेसिन आयात गरेर इन्टर लक सिस्टमको हाइड्रा फार्म ब्लक उत्पादन शुरु गरियो । गाउँकै माटो प्रयोग गरेर ब्लक (ईट्टा) उत्पादन गरिएको थियो । जुन नेपालमै पहिलो प्रविधि हो । यसले गाउँ पनि उठायो, स्थानीयलाई सीप पनि हस्तान्तरण गरेको स्थानीय युवा राम खड्का बताउँछन् ।
फाउण्डेसनले घर बनाइदिने तर सेफ्टी ट्याङकीको वाल, छानाको काठ र झ्याल ढोका गाउँले आफैले बनाउनुपर्ने प्रस्ताव ग¥यो। स्थानीय सामुदायिक वनले निःशुल्क काठ उपलब्ध गरायो । घर बनाउँन स्थानीयले राज्यले दिएको पहिलो किस्ता बापतको ५० हजार लिए । बाँकी सबै फाउण्डेसन, फेमस र स्थानीयले नै लगानी गरे । एउटा घर तयार हुँदा ८ देखि १० लाखसम्म खर्च भएको उनीहरु बताउँछन् ।
घर बनाउनका लागि फाउण्डेसनबाट ३ सय बढी स्वयंसेवक अमेरिकाबाट यार्सा आएर खटिए । स्थानीय गाउँलेलाई निर्माण अवधिभर श्रमका लागि गाउँ बाहिर जान रोक लगाइयो । श्रमदानमा खटिने गाउँलेलाई प्रति व्यक्ति दैनिक ५ सय रुपैंया दिइन्थ्यो ।
शहिद परिवार समाजका सचिव रहेका पत्रकार खड्काका अनुसार भुइँचालोमा लडेका १ सय १३ घर मध्ये ८ घर बसाई सरेर अन्यत्र गए भने रोजगारीको सिलसिलामा राजधानी र देशका अन्य स्थानमा रहेका अन्य ५ जनाले घर बनाउन इच्छै देखाएनन् । सबै घरहरु बनिसकेपछि एकै खालका रङ लगाउने इच्छा गाउँलेको छ । उनीहरु गाउँबाट खावा हुँदै जिरी जोड्ने सडकलाई स्तरोन्नती गरेर यार्सामा होम स्टे चलाउन चाहन्छन् ।

गेरीलाई गुमाउँदा गाउँ नै सोकाकुल

अमेरिकादेखि आएर आफै खटेर गल्र्याम गुर्लुम ढलेको गाउँलाई उठाइदिएका अमेरिकी नागरिक डाक्टर गेरि योङलाई भने गाउँलेले गुमाए । गाउँको पुर्ननिर्माण भव्य रुपमा उद्घाटन गर्ने तयारीमा भएको बेला एक्कासी गेरी संसारमा नभएको खबरपछि यार्सा सिंगो गाउँ नै सोकाकुल बनेको छ । स्थानीय बृद्ध दातेम्बा शेर्पाका अनुसार पुनर्निर्माण सकिए लगत्तै यार्सा गाउँको भव्य समारोहबीच स्थानीयबासी र नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना बुनेका थिए । तर दुई साताअघि नेपालबाट अमेरिका फर्किएका गेरीको हृदयघातका कारण निधन भएको थियो ।
गेरीले पुनर्निर्माणका लागि अहोरात्र खटेर काम गरेको दातेम्बाले सुनाए । ‘यहाँको भुगोल र निजी जग्गाहरुको अवस्था अझ मिलेन नभए उनले गाउँभएर गएका तीनवटै सडक किनारामा यो बस्ती बसालौं भनेका थिए ।’ गेरी नहुँदा आफूले अभिभावक गुमाए झँै भएके उनले बताए ।

Shares

Be the first to comment on "नमूना गाउँ वन्यो यार्सा"

Leave a comment

Your email address will not be published.


*