पूर्व विश्व विजेता इंग्ल्यान्डको सामना गर्दै क्रोएसिया, इतिहास उल्ट्याउन सक्ला ?

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी । फिफा विश्वकप फुटबल २०१८ अन्र्तगत दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) इग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । रसियाको मस्को स्थित लुज्निकी रंगशालामा नेपाली समयअनुसार ११ः४५ मा खेल शुरु हुनेछ ।

दुवै टिम आजको खेल जित्दै फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछन् ।  सन् १९६६ मा विश्वकपको उपाधी उचालिसकेको इग्ल्यान्डसँग दोस्रो पटक सेमिफाइनल पुगेको क्रोएसिया भिड्दैछ । क्रोएसिया यसअघि फ्रान्सले आयोजना गरेको सन् १९९८ को विश्वकपमा तेस्रो भएको थियो ।

जारी विश्वकपमा टिमको प्रदर्शनः
रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनल पुगेको इग्ल्यान्ड समूह जि को उपविजेता टिम हो । इग्ल्यान्डले समूह चरणका खेलमा ट्युनिसियालाई २—१ र पानामालाई ६—१ गोल अन्तरले पराजित गरेको थियो भने समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १—० गोल अन्तरले पराजित भएको थियो । त्यसैगरी, प्रि—क्वाटरफाइनल खेलमा इग्ल्यान्ड र कोलम्बियाबीचको खेल निर्धारित समयसम्म १—१ गोल बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । इग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेको हो । त्यस्तै, क्वाटरफाइनल खेलमा इग्ल्यान्डले स्वीडेनलाई २—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

यता, रसियामा क्रोएसियाको अहिलेसम्मको प्रदर्शन प्रशंसा गर्न लायक रह्यो । क्रोएसियाको समूहमा विश्वकप विजेताको दाबेदार मानिएको राष्ट्र अर्जेन्टिना रहेकाले सुरुमा क्रोएसियाका लागि कठिन हुने आंकलन गरिएको थियो ।

तर, क्रोएसियाले समूह चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । समूह चरणका खेलमा नाइजेरियालाई २—०, अर्जेन्टिनालाई ३—० र आइसल्यान्डलाई २—१ गोल अन्तरले परािजत गर्दै प्रि—क्वाटरफाइनल प्रवेश गर्यो ।

त्यस्तै, प्रि—क्वाटरफाइन खेलमा क्रोएसियाले डेनमार्कसँग खेलेको थियो । क्राोएसिया र डेनमार्कबीचको खेल १—१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३—२ गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्यो ।

क्वाटरफाइनल खेलमा क्रोएसियाले आयोजक राष्ट्र रसियासँग खेलेको थियो । रसियासँगको खेलमा क्रोएसियाले निर्धारित समयसम्म २—२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा क्रोएसियाले रसियालाई ४—३ गोल अन्तरले पराजित गरेको थियो ।

सेमिफाइनल खेल्न लागेका दुवै टिम बलिया हुन् भने दुवै टिमलाई स्टार खेलाडीको साथ पनि छ । इग्ल्यानडका लागि कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, मार्कस रास्फोर्ड लगाएतका खेलाडी छन् ।

त्यस्तै, क्रोएसियालाई कप्तान लुका मोड्रिक, एनटी रेविक, इभान रकिटिक लगायतका स्टार खेलाडीको साथ छ ।

हेड टु हेड
अहिलेसम्म इग्ल्यान्ड र क्रोएसियाको भेट ७ खेलमा भएको छ । त्यसमध्ये ४ खेल इग्ल्यान्डले जितेको छ भने २ खेल क्रोएसियाले बाजी मारेको छ । त्यसैगरी, यि दुई टिमले १ खेल बराबरी खेलेका छन् ।

Shares

Be the first to comment on "पूर्व विश्व विजेता इंग्ल्यान्डको सामना गर्दै क्रोएसिया, इतिहास उल्ट्याउन सक्ला ?"

Leave a comment

Your email address will not be published.


*