भिमेश्वर नगरपालिकाले तोक्यो राजमार्गको मापदण्ड

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– दोलखाको भिमेश्वर नगरपालिका भित्रका सडक क्षेत्रमा घर निर्माण गर्दा दुई मिटर अनिवार्य रुपमा छोडे मात्र घरको नक्सा पास हुने भएको छ । भिमेश्वर नगरपालिकाले हालै बनेको विद्येयकले सो व्यवस्था गरेको हो । त्यसैगरी गोरेटो बाटोमा निर्माण गर्दा पाँच फिट फासला (सेटव्याक)अनिवार्य छोड्नुपर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र रहेका सडक, बाटोघाटो र नयाँ बन्ने सडक र बाटोघाटोलाई सहज आवागमन योग्य बनाउने उद्देश्यका साथ नगरपालिकाले यो नियम बनाएको हो ।
सडक,बाटोघाटो एवम् जलाधार क्षेत्र वरिपरि हुने निजी तथा सार्वजनिक पूर्वाधार निर्माणलाई व्यवस्थित एवम् स्थापित नगर मापदण्ड अनुरुप बनाउने, सडक तथा बाटोघाटोहरुको निर्माण, मर्मत सम्भार, विस्तार र स्तरोन्नति गर्ने विधि बनाउन वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ समेतलाई ध्यानमा राखी ऐन बनाएर नियम लागू गरेको जनाइएको छ ।
चक्रपथका फासला दुई मिटर ।
नगरस्तरीय सडकको फासला एक दशमलव पाँच मिटर ।
 सहरी सडकको फासला दुई मिटर ।
 वडास्तरीय सडकको फासला एक दशमलव पाँच मिटर ।
 टोलस्तरीय सडकको फासला एक दशमलव पाँच मिटर ।
 सहायक सडकको फासला एक दशमलव पाँच मिटर ।
गोरेटो बाटोको फासला पाँच फिट ।
 खोला र खोल्सीको प्राकृतिक बहावबाट एक दशमलव पाँच मिटर फासला।
 राजकुलो तथा कुलोको फासला तीन फिट ।
त्यस्तैगरी लामोसाँघु–जिरी सडक खण्डमा सडकको क्षेत्राधिकारभन्दा बाहिर दुई मिटर फासला छोड्नु पर्ने व्यवस्था गरिएको छ । ऐनले साविकमा २०६१ देखि २०६८ सम्म बनाएका संरचनाका हकमा तीन फिट तथा २०६९ देखि यो ऐन लागू नहुन्जेलसम्म एक दशमलव पाँच मिटर फासला छाडी नक्सा पास हुने व्यवस्था गरेको छ । यो अबधीमा बनेका बनेका संरचनाको लाग्ने दस्तुरको तेब्बर दस्तुर लिई नक्सा पास गर्ने व्यबस्था नगरपालिकाको ऐनमा छ । ऐनमा दोलखा–सिंगटी सडक खण्डमा सडकको क्षेत्राधिकारभन्दा बाहिर दुई मीटर फासला छोड्नुपर्ने उल्लेख छ। त्यसैगरी अनाथालयदेखि तिखातलसम्मको अपर तामाकोशी बाइपास सडक ६ मिटर चौडाको हुने र सो भन्दा बाहीर दुई मिटर फासला छोड्नुपर्ने व्यवस्था छ । ऐन बमोजिम जुनसुकै वर्गिकणमा परेको सडक, गल्ली, खोल्साखोल्सी तथा राजकुलो वा कुलोको किनारमा व्यावसायिक प्रयोजनका लागि जस्तोसुकै संरचना निमार्ण गर्दा दुई मिटर फासला छोड्नु पर्ने उल्लेख छ ।
नयाँ ऐनअनुसार नगरपालिककाले निर्माण गरेका सबै प्रकारका सडकहरु र राष्ट्रिय राजमार्गमा व्यक्ति वा सङ्घ वा संस्थाहरुले कुनै प्रकारको भौतिक संरचना निर्माण गर्दा ऐनमा व्यवस्था भएको फासला बाहेक दायाँबायाँ छज्जा राख्न चाहेमा छज्जा बराबरको थप फासला छोड्नु पर्ने व्यबस्था ऐनमा रहेको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकाले तोक्यो राजमार्गको मापदण्ड"

Leave a comment

Your email address will not be published.


*