मतदाता भन्छन्ः माग सम्बोधन गर्नेलाई भोट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा (चरिकोट) ः वन्यजन्तु आतंकले आजित भएका दोलखाका किसानहरूले वन्यजन्तु आतंक नियन्त्रण गरिदिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाँदर,मृग, दुम्सी लगायतका जनावरहरुले बालि सखापपारी आतंकित पारेपछि उनीहरुले सो बताएका हुन् । भीमेश्वर नगरपालिका वडा नम्बर ५ धरमघरका किसान विष्णु कुमारी लामीछानेले स्थानीय तहको निर्वाचनमा उम्मेदवारसँग बाँदरबाट बाली जोगाउन मुस्किल भएको दुखेसो पोख्दै यसबाट छुटकारा दिलाउन माग गर्नु भएको थियो । यो निर्वाचनमा पनि उहाँको माग त्यही छ । “बैशाखको चुनावमा आएका उम्मेदवारसँग पनि सधैंको लागि बाँदर भगाएर गाउँलाई शान्त पार्न माग गरेको थिएँ । तर ,आफूहरुको मतले उहाँहरु निर्वाचित भएको आधा बर्ष बितिसक्दा पनि समस्या जाहाँको त्यहीँ छ ।” उहाँले भन्नुभयो “अहिले उनीहरु भन्दा माथिल्लो तहमा पुग्न खोजिरहेका उम्मेदवारलाई किसानको समस्या समाधान गर्न एकै स्वरमा माग गरेका छौँ । जंगली जनावरको आतंक बन्द गर्ने विश्वास दिलाउनेलाई यो पटक भोट दिन्छौं । ।”
उम्मेदवारहरुसँग वन्यजन्तुको कारण गाउँमा सबैले सास्ती भोग्नु परेको गुनासो सुनाउँदै समस्या सदाको लागि समाधान गरिदिन उमेद्वारहरुसँग माग गर्दै आएको भीनपा ४ जिलुका किसान मेख चौलागाईँले बताउनु भयो । “भोट माग्न आउनेलाई वन्य जन्तुले दिएको समस्या सम्बोधन गरी नीति निर्माण र कार्यान्वयन गर्ने सर्तमा भोट दिने पक्षमा आफूहरु रहेको भनेका छौं ।”उहाँले भन्नुभयो, “अहिलेसम्म एक दुई जना नेताले सर्त मान्ने बाचा गरेर गएका छन् । उनीहरुलाई नै हाम्रो भोट खस्छ ।”
लगानी, मल, बिउ, सिंचाइ, बिमा, प्रविधि, बजार र मजदुरको अपर्याप्तता र अभावमा पनि खेतबारी बाँझो नराखी किसानहरुे अन्नबाली लगाइरहेका छन् । तर अन्नबालीको बिउ उम्रिएर हुर्किन नपाउँदै बाँदर, दुम्सी, मृग लगायतका जंगली जनावरले खाईदिने गरेको किसानहरुको गुनासो छ ।
“वन्यजन्तुले अन्नबालीमा क्षति पु¥याउने गरेको भएपनि कुनै निकायबाट यसको दिगो समाधानकालागि अहिले सम्म ठोस काम हुन सकेन । “ किसान रत्न कुमार श्रेष्ठले भन्नुभयो “अब निर्वाचित हुने साँसदले छिटोभन्दा छिटो आवश्यक कानुन बनाई वन्यजन्तुको नियन्त्रण गरुन भन्ने हाम्रो माग छ ।” अर्की किसान सुनिता थामीले बिउ बराबरको अन्नबाली भित्र्याउन समेत सधैं बारीमा वन्यजन्तु खेदेर बस्नुपर्ने बाध्यतालाई जस्ले हटाउँछ त्यसैलाई भोट दिने बताउनु भयो । स्थानीय सरकारले चर्को आवाज निस्कने यन्त्र दिने बाहेक वन्यजन्तु आतंक समाधानको लागि अन्य कुनै काम नगरेको अर्की कृषक सुन्तली थामीको दुःखेसोछ । “केही दिन त त्यो यन्त्र पड्काउँदा बाँदर भाग्थ्यो आज भोली त डाराउनै छोड्यो ।” उहाँले भन्नु भयो ।अहिले युवाहरु काम खोज्दै कोही विदेश त कोही, सहर छिरेका छन् । गाउँमा रहेका हामी बयोबृद्धहरुले लगाएकोे अन्नबाली पनि वन्यजन्तुले खाईदिएपछि अब खेती गर्ने कि नगर्ने भन्नेमा आफूहरु दोधारमा परेको स्थानीयहरुको भनाई छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा वन्यजन्तु समस्या पेचिलो बन्दै गएको छ । यसबाट सबैभन्दा बढी कृषि क्षेत्रमा हानी पुगेको छ । किसानहरुले यो समस्याबाट मुक्ती पाउन विभिन्न सरकारी निकायसँग गुहार माग्ने गरेपनि हालसम्म समस्या समाधान हुन सकेको छैन । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पछि बन्ने नयाँ सरकारले समस्या नियन्त्रण गर्न कानुन बनाउँछ की भन्ने आशामा आफूहरु मतदान प्रक्रियामा सहभागी हुनलागेको स्थानीय किसानहरुको भनाई रहेको छ ।
बुझेर मात्र जेष्ठ नागरिकले मतदान गर्ने

संसदीय निर्वाचनको संघारमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उनीहरूले मतदाताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न दुई हात जोडेर आग्रह गरिरहेका छन् । उम्मेदवारहरुले मत मागिरहँदा मतदातामा भने कसलाई मतदान गर्ने भन्नेमा अन्योलता देखिएको छ । सबै उम्मेदवार नयाँ अनुहारका, भोट माग्ने शैली र बाँढ्ने आश्वासन पनि सबैको समान छ । जसले गर्दा कुन उम्मेद्वारलाई मतदान गर्ने मतदाताहरु अझै स्पष्ट हुन सकेका छैनन् ।
प्रत्येक उम्मेदवारले आफूलाई “अकबरी सुन र अरुलाई फलाम हुन्,” भन्दै मतदातालाई “अकबरी सुन रोज्न” अनुरोध गरिरहेका छन् । यस्तो बेला को असल, को खराब छुट्याउनै हम्मे परिरहेको मतदाताहरुको भनाई छ । तर चरिकोट बजारमा भेटिनु भएका ज्येष्ठ नागरिकहरुको भने एकै स्वर छः हाम्रो मत असल उम्मेदवारलाई । जेष्ठनागरिकहरुले उम्मेदवारहरुको भीडमा असल उम्मेदवार कमै मात्र हुने र तिनीहरुको पहिचान गरेर निर्वाचनको दिन विवेक लगाएर मतदान गर्ने बताएका छन् ।

“मत पाएर जितेपछि सट्टामा विकास र समृद्धिको बाटो प्रसस्त गरिदिने भन्दै सबै उम्मेदवारले मत मागिरहेका छन् । उनीहरूले आफूलाई असल भनिरहेका छन् । तर उनीहरूको असली रुप छुट्याएर मतदान गर्न आवश्यक छ ।” भीमेश्वर नगरपालिका वडा नं. ५ धरमघरका ७७ बर्षीय ज्येष्ठनागरिक बिर्ख बहादुर कार्कीले भन्नुभयो “ नेपाली जनताको भाग्य र भविष्य यही निर्वाचनमा जोडिएको छ । त्यसैले विवेक पुर्याइएन भने त पाँच बर्षको लागि मात्र होइन सधैँको लागि पछुताउनुपर्ने हुन सक्छ ।” उहाँले उम्मेदवारको पृष्ठभूमि, स्वभाव, चरित्र, प्रतिबद्धता, सही गलत छुट्याएर मतदानका लागि तयार हुनुपर्ने बताउनुभयो ।
“आश्वासनको पोका बाँड्दै, मिठोकुरा गरेर उम्मेदवारले लोभ्याउने कोसिस गर्छन् । मतदाताले उनीहरुको सबै कुरा पत्याउनु हुदैन । त्यही बेला प्रश्न सोधेर उनीहरुको बारे सबै कुरा थाहा पाउनुपर्छ । अनि सो उम्मेदवार मतका लागि योग्य भएनभएको स्पष्ट हुनुपर्छ ।” जेष्ठ नागरिक कार्कीले थप सुनाउनुभयो,“देखाउने र चपाउने दाँत फरक हुन्छ । त्यसैले बुद्धि लगाउनुपर्छ ।” पञ्चायत काल देखि मतदान गर्दै आउनुभएका कार्कीलाई जीवन अवधिमा अहिले सम्म कति औं पटक मतदान गरियो, याद छैन । तर जतिपटक मतदान गरेपनि आफ्नो जीवन र समाजमा परिवर्तन नआएको उहाँको भोगाई छ । त्यसैले पनि अब भावी सन्तति र देशको भविष्यका लागि योग्य, सक्षम र असल उम्मेदवारलाई जिताएर संसदमा पु¥याउने विर्ख बहादुरको सोचाइ छ ।
“कति पटक मतदान गरियो । त्यो याद भएन । तर ती मतहरु सबै खेर गए ।” उहाँले भन्नुभयो “उम्मेद्वारहरुको ललिपप जस्तो आवश्वासनमा लट्ठिएर उसैलाई मतदान गरियो । उनीहरु ठूला पदमा पुगे । तर हामी र गाउँलाई बिर्सिए । जितेकाहरुको कहिल्यै नाक मुख देख्न पाइएन । ।” त्यसैले यो पटक उहाँको अठोट बलियो छ कि, उम्मेदवारलाई जाँचेर, छानेर मतदान गर्ने ।
अहिले सबै उम्मेदवारले देश र जनताको भविष्यका लागि आफ्नो विकल्प नभएको बताउने गर्छन् । कतिपयले अन्य उम्मेदवारको खराब पक्ष खोतल्दै गाली गरेर समेत मत मागिरहेका छन् । कतिपय भने अत्यन्तै असल, भलाद्मी र जनप्रेमी भएको जस्तो गरी मतदाता समक्ष देखिने कोसिस गरिरहेका छन् । अहिले उम्मेदवारले जेजसरी मत मागेपनि मत खसाल्ने दिन असल उम्मेदवारलाई खसाल्ने पक्षमा आफूहरु रहेको मागापौवाका ६५ वर्षीय ज्येष्ठनागरिक कृष्ण बहादुर श्रेष्ठले सुनाउनु भयो । उहाँले जनताको सुखदुखमा साथ दिने, समस्या समाधानको लागि काम गर्ने, आवश्यक नीति, कानून र ऐन बनाउने र जनताको भावनालाई शिरोपर गर्ने उम्मेदवारलाई आफ्नो मत रहेको बताउनुभयो । उहाँले विगतमा खोक्रो आश्वासनमा लोभिएर मतदान गर्दा सधैँ हामीहरुले कष्ट व्योहोर्नु परेको बताउँदै भन्न्ुभयो “ उनीहरुको ख्रोको कुरा सुनेर पत्याएर मतदान गरियो । थुप्रै सपना बाँडेका थिए । थुप्रै आश्वासन दिएका थिए । तर ,ती कागज र बोलीमै सिमित भयो । त्यसैले यो पटक त मज्जाले सोचेर, बुझेर, विवेक लगाएर भोट हालिन्छ ।”अर्का ज्येष्ठनागरिक सिताराम तामाङले भावी सन्ततिको भविष्य निर्धारण गर्ने निर्वाचन भएकोले खराब व्यक्तिलाई पाखा लगाएर असल, इमानदार र प्रतिबद्ध उम्मेदवारलाई चुन्ने सोचाइमा आफू रहेको र अरुलाई पनि यस्तै सुझाव दिएको बताउनु भयो । पूँजपति उम्मेदवारहरुले पैसा बाँडेर भोट किन्ने जस्तो निच काम यो पटक पनि गर्न सक्ने भएकोले त्यस्तालाई चिनेर बहिस्कार गर्नु पर्ने उहाँले बताउनु भयो । अहिले गरेको हेलचेक्राँइले असल व्यक्ति हार्ने र खराब व्यक्तिले मौका पाउने हुँदा त्यस्तो हुन नदिन सबै मतदाताहरु सचेत हुन आवश्यक रहेको जेष्ठ नागरिक तामाङको धारणा रहेको छ ।

माछा मार्ने पेशा संरक्षण गरिदिनेलाई भोट
कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ देउथली माझी बस्तीका माझीहरुले मत माग्न आउने उम्मेदवारहरुसँग आफ्नो पेशाको संरक्षण ग रिदिन आग्रह गरेका छन् । आफ्नो माछामार्ने पेशा संकटमा पर्न लागेको महशुस गरी उनीहरुले आफ्नो पेशाको संरक्षण गरिदिन उम्मेदवारहरुसँग आग्रह गरेका हुन् ।देउथली माझी बस्तीमा सडक, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधारहरू अगाडी बढेको तर परमपरागत माछा मार्ने पेशा भने केही वर्षदेखि सङ्कटमा परेको स्थानीय ६९ बर्षीय ढालबहादुर माझीले बताउनु भयो ।
माथिल्लो तामाकोसी आयोजना लगायतका जलविद्युत आयोजनाहरूले नदीका पानी थुन्ने तथा छाड्ने र अन्य समूदायका मानिसले करेन्ट लगाई माछा मार्ने जस्ता कार्यले माझी समुदायको पेशा संकटमा परेको उहाँको भनाई छ । यसर्थ यो निर्वाचनमा मत माग्न आउने उम्मेदवारहरूलाई यही समस्या सुनाउने ढालबहादुर माझीले बताउनु भयो । माछा मार्ने पेशा सङ्कटमा परेपछि परिवार चलाउनै समस्या भएको बताउँदै राजनीतिक दल र उम्मेदवारहरूले आफूहरुलाई वैकल्पिक पेशा व्यवसायको लागि पहल गरिदिनुपर्ने स्थानीय कल्याणी माझीले बताउनु भयो ।
आफूहरू सधैँ अभिभावकको भरमा पर्नुपरेको तर अहिले अभिभावकको पेसानैं सङ्कटमा परेकोे स्थानीय दृष्टिविहीन मतदाता दाजु –बहिनी कृष्ण माझी र पार्वती माझीको भनाई छ ।
कालिञ्चोक– ८ को देउथली माझी बस्तीमा झण्डै ४२ घरधुरी रहेको छ । तीन सय ५० जनसङ्ख्या रहेको यो बस्तीमा झण्डै दुई सय मतदाता रहेको वडा अध्यक्ष बालकृष्ण (सूर्यबहादुर) आचार्यले बताउनुभयो ।
माझी बस्तीमा आवश्यक विकासका पूर्वाधार निर्माणको लागि कालिञ्चोक गाउँपालिका तथा वडाले सक्दो सहयोग गरिरहेको उल्लेख गर्दै माझीहरुको परमपरागत पेशा संरक्षण र वैकल्पिक रोजगारीको लागि सबैतहबाट ठोस योजना ल्याउन आवश्यक रहेको वडाअध्यक्ष आचार्यको भनाई छ ।
माझीहरुको मुख्य पेशा भनेकै तामाकोसी नदीमा जाल,लहरी तथा बल्छीको प्रयोग गरी माछा मारेर बिक्री गर्नु हो । अहिले प्राकृतिक रुपमा आउने बाढी पहिरो, जलविद्युत आयोजनाहरुले पानी थुन्दा र छोड्दा नदीमा बहाबमा हुने परिवर्तन, अन्य समूदायकामानिसले माछा मार्न करेन्ट लागाउने, विष्फोटक पदार्थ प्रयोग गर्ने , विषादीको प्रयोग जस्ताकारणले नदीमा माछा घटीरहेका छन् । यसर्थ यस्ता कृयाकलाप बन्दगरी माझी समूदायको पेशाको संरक्षण गर्नु पर्ने देउथली वासीको माग रहेको छ ।

Shares

Be the first to comment on "मतदाता भन्छन्ः माग सम्बोधन गर्नेलाई भोट"

Leave a comment

Your email address will not be published.


*