माथिल्लो तामाकोसीको सफलतापूर्वक पाइप जडान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ३ असार
स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार राती सफलतापूर्वक पाइप जडान भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङ र प्राधिकरणका संचालकद्धय चेतराज जोशी तथा भक्तबहादुर पुनको उपस्थितिमा पाइप राख्न सुरु गरिएको हो ।
तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको हो । अब त्यसलाई मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कंक्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान सुरु हुने छ । तल्लो पेनस्टक साफ्टमा ३७२ मिटरमा ७४ वटा पेनस्टक पाइप जडान गर्नु पर्ने छ ।
पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘पेनस्टक पाइप जडान ज्यादै गाह्रो थियो, यस अघि जडान सुरु गर्दा क्रेनको डोरी नै चुंडिएको थियो, त्यसपछि क्रेनले काम गर्ने÷नगर्ने लगायतका अन्यौल र अनिश्चितता थियो, अब पहिलो पाइप सफलतापूर्व राखिएपछि सबै अन्यौता हट्दै आयोजना सम्पन्न हुने दिशातर्फ अगाडि बढेको छ,’उनले भने । ‘पहिलो युनिटबाट (७६ मेगावाट) पुसभित्रमा उत्पादन गर्ने लक्ष्य राखेका र्छौ, यसमा केही तलमाथि हुनसक्ला तर आयोजना आर्थिक वर्ष २०७६।७७ भित्रै निर्माण सम्पन्न हुने छ ।’ उनले क्रेनले ६ मिटर प्रति मिनेटका दरले पाइप झार्ने हुँदा अब कामले गति लिने बताए ।
पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन् । उनले आयोजनाको आपूmले लिएको जिम्मेबारी छिट्टो पूरा गर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए ।
बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । लामाबगरमा रहेको बाँधमा फिनिसिङको सानातिना काम भइरहेको छ । सुरुङ, प्रसारण लाइन निर्माणको काम समानान्तर रुपमा अगाडि बढिरहेको छ । सबै संरचनाहरु निर्माणको अन्तिम चरणमा छन् ।
२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।
आयोजनाको निर्माण आर्थिक वर्ष २०७३।७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५।७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।
तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ । त्यसपछि हरेक महिनाको फरकमा बाँकी ५ युनिटबाट विद्युत् उत्पादन गरिने छ । पेन स्टक पाइप जडानपछि सोमबार आयोजनास्थलमै बोर्ड बैठक बसेको छ । अब माथिल्लो पेनस्टक साफ्टको काम पनि चाँडै सुरु हुने तयारीमा रहेको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको सफलतापूर्वक पाइप जडान"

Leave a comment

Your email address will not be published.


*