मिडियाप्रतिको जनविश्वास

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जीवन लामा

सञ्चारगृहको संख्या बढ्दो अवस्थामा छ । दिनानुदिन नयाँ नयाँ सञ्चारगृह खोल्ने होडबाजी चलेको छ । जिल्लाकै सन्दर्भमा पनि नयाँ सञ्चारगृहको संख्या ह्वात्तै बढेको छ । दोलखाकै सन्दर्भमा मिडियाको हिसाब गर्ने हो भने ६ वटा रेडियो, एउटा दैनिक पत्रिका, ३ वटा साप्ताहिक पत्रिका र १ दर्जनजत्ति अनलाईन नियमित छ ।
सञ्चारगृहको संख्या वृद्धिसँगै पत्रकारहरुको संख्या पनि बढ्दो छ । एक अनलाईन एक पत्रकार सामान्य हुन थालेको छ । ३ दर्जनजत्ति दोलखामा क्रियाशिल पत्रकारहरु छन् । १४६ जना पत्रकारहरु नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखामा आवद्ध छन् । स्थानीय अनि राष्ट्रिय सञ्चारगृहहरुमा काम गर्ने पत्रकारहरु प्राय सबै क्रियाशिलमै गणना हुन्छ । राष्ट्रिय सञ्चारगृहहरुमा प्राय सबैमा जिल्लाबाट रिपोर्टिङ हुन्छ ।
जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, जलविद्युतलगायत विकासको पाटोमा कमल चलाउने पत्रकारहरु धेरै छन् । विकास निर्माणमा सँगसँगै छन् पत्रकारहरु पनि । जिल्लाको कुभलो चिताउने कोही छैन होला । तसर्थ पत्रकारले चलाएको कलमप्रति सबैको विश्वास बढ्नु स्वभाविक हो । पत्रकारले लेखेपछि जनचासो बढ्नु, बोलेपछि विश्वास गर्नु र देखेपछि हो भन्नु सबैको धर्मनै हो ।
पछिल्लो समय पत्रकारप्रति विश्वास घट्दै गएको हो कि भन्ने शंका उब्जिएको छ । धेरैको अनलाईन मिडियाप्रतिनै विश्वास छैन । अनलाईनमा भएको खबर पनि सत्य हुन्छ र ? जे पनि लेख्छन् अनलाईनमा भन्न थालेका छन् । तसर्थ हिजोको दिनमा जस्तो अनलाईन मिडियाप्रतिको विश्वास घट्नु भनेकै सिङ्गो मिडियाप्रतिको विश्वास नहुनु हो । रेडियो, पत्रपत्रिकामा भएको समाचारप्रति जनविश्वास बढाउनको लागि सबै पत्रकारहरुको चुनौती हो । विस्तार विस्तार मिडियाप्रति जनविश्वास घट्न थाल्यो भने विश्वास दिलाउने र सरोकार निकायलाई घचघचाउने को त ? एक दुई जनाले गल्ती कमजोरी गर्दैमा सबैलाई एउटै डालोमा हाल्नु स्वभाविक हो तर, यसलाई छुटाउने जिम्मेवारी सबै पत्रकारको हो । कोही कसैको नजिक हुँदैमा र पार्टीगत रुपमा विश्वास गर्नु मात्र सबै होईन । व्यक्तिगत प्रचारबाजी भन्दा पनि संस्थागत प्रचार आवश्यक छ । एकले अर्काको खुट्टा तान्नु भन्दा पनि आफू कहाँ छ भन्ने ठूलो कुरा हो । आफूले गरेको सबै ठीक, अरुले गरेको राम्रा काम पनि गलत हो भनेर प्रचार गर्नु कत्तिको जाहेज होला । कतिपय कार्यालयका कर्मचारीहरुले पनि पत्रकार भनेको विज्ञापन र पेट्रोल माग्ने हो भन्ने बुझाई छ । पत्रकारहरु आफै पनि एकअर्कालाई खिल्ली उडाउने र कमजोर ठान्ने गर्छन । जसले गर्दा सिङ्गो पत्रकारिता जगतकै बेइज्जत हुन थालेको छ ।
मिडियाप्रति जनविश्वास घट्नु पक्षधर लिनु पनि हो । चुनावको बेलामा आआफ्नो पार्टीको डम्फू बजाउनु त केही हदसम्म ठीकै होला तर अरुबेला पनि आँखै चिम्लेर साथ दिनु कत्तिको जायज होला ? आफ्नो पार्टीले गल्ती गरेमा देखेपनि नदेखे जस्तो गर्ने, सुनेपनि नसुने जस्तो गर्ने तर अर्को पार्टीको भन्दैमा खैरो खन्ने विकृति बढ्दो छ । यस्ता घटना दोलखामा पनि बारम्बार भईरहेको छ । कहीकतै एकले अर्कोलाई भनेको न सुन्न सक्छन् । न सुधार्ने प्रयासनै गर्छन । पत्रकारहरु स्वयमले गर्दानै मिडियाप्रतिको नजर नकारात्मक हुँदैछ ।
हुनत जहाँ खराब छ । जसले नकारात्मक पक्षलाई बढी जोड दिएका हुन्छन् । जसको खैरो खनेको छ । त्यहीप्रति सबैको ध्यानाकर्षण हुन्छ । त्यसैलाई बढवा दिन्छन् । यही गलत बुझाईकै कारण सर्वसाधारणको मिडियाप्रति गलत धारणा बढ्न थालेको हो । पाठकले पनि जुन कुराको नकारात्मक समाचार सप्रेषण गरेको त्यही पत्रकारलाई प्रोत्साहन दिने संस्कारले पनि यस्तो विकृति बढेको मानिन्छ । अहिलेसम्म हाम्रो समाजमा नकारात्मक कुराको बढी चासो र बढवा दिने चलन छ । तसर्थ यस्ता नकारात्मक समाचारलाई निरुत्साहित गर्न आवश्यक छ । हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहन दिन आवश्यक छ ।
कमजोरीलाई औलाउने र राम्रा कुराको प्रचारप्रसार गर्न सकेमा मात्र सभ्य समाजको सिर्जना हुन सक्छ । सभ्य समाजले मात्र पत्रकारिताको विकासमा टेवा पु¥याउन सक्छ । जबसम्म सञ्चारगृहको विकास र स्थायीत्व हुँदैन तबसम्म समाज विकास हुन सक्दैन । अहिले नेपाल सरकारले समेत समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा भनि रहदा यसलाई पूरा गर्नको लागि पनि सञ्चारमाध्यमको त्यत्तिकै महत्व छ । तसर्थ पत्रकारहरु सञ्चारमाध्यममै टिकाउन लागि सबै तह तप्काबाट सहयोग आवश्यक छ । स्थानीय सरकारले यसको प्रवद्र्धन र संरक्षण गर्न आवश्यक छ । अनि मात्र सकारात्मक र सभ्य समाज निर्माणको सपना पूरा हुन सक्छ ।
लेखक नेपाल पत्रकार दोलखाका अध्यक्ष हुन ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "मिडियाप्रतिको जनविश्वास"

Leave a comment

Your email address will not be published.


*