संक्रमितको परिचय नखुलाउन सञ्चारमाध्यमलाई सचेत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । सरकारले कोरोना संक्रमितको पहिचानका लागि बुधबारसम्म ६३ जिल्लामा र्‍यापिङ डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । अब १४ जिल्लामा पनि केहीदिनभित्रै आरडीटी विधिबाट परीक्षण सुरु गर्नेगरी काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।उनका अनुसार र्यापिड टेस्ट हालसम्म ८ हजार ९२९ जनामा सम्पन्न भइसकेको छ भने पीसीआर विधिबाट ६ हजार ८७१ जनाको परीक्षण भएको छ । दुबै गरेर हालसम्म १५ हजार ८०० जनामा कोरोना परीक्षण सम्पन्न गरिसकिएको देवकोटाले जानकारी दिए । उनका अनुसार र्‍यापिड टेस्ट सुरु हुन अब प्रदेश नम्बर १ को ७ जिल्ला प्रदेश २ को ३ जिल्ला, गण्डकी प्रदेशको १ जिल्ला, प्रदेश ५ को १ जिल्ला र कणाली प्रदेशको २ जिल्ला बाँकी रहेका छन् । बागमती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा यो सेवा पुगिसकेको छ । उनले आरडीटीमा कतिपय किटमा पोजेटिभ रिपोर्ट देखिएको भएपनि त्यसलाई पीसीआर विधिबाट परीक्षण गरेर एकिन गरिसकिएपछि मात्रै रिपोर्ट सार्वजनिक गर्ने गरिएको बताए । कतिपयले आरडीटी विधिबाट गरिने परीक्षणबारे प्रश्न उठाइरहेको बेला उनले यसबारे थप बोलेनन् । उनले भने, ‘आरडीटीबाट परीक्षण गर्दा विभिन्न किट पोजेटिभ भएका छन् । भएकालाई थप पीसीआरबाट परीक्षण गरिसकेपछि मात्र नतिजा प्रकाशित गर्ने गरिएको छ ।’ हालैका दिनमा आरडीटीमा पोजेटिभ भएका पीसीआरमा नेगेटिभ देखिएका छन् भने आरडीटीमा नेगेटिभ आएकाको पीसीआरमा पोजेटिभ रिपोर्ट आएको छ । राजधानीको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनामध्ये एक जनाको रिपोर्ट समेत नेगेटिभ आएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको थियो। यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । गत चैत पाँच गते बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो ।

ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए । यस्तै डा देवकोटाले हालसम्म १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै संक्रमितको परिचय नखुलाउन पनि सञ्चारमाध्यमलाई सचेत गराएका छन् । हालसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा ११७ जना रहेका छन् । आइसोलेशनमा रहेकामा काठमाडौंमा ११ र काठमाडौं बाहिर १०६ जना रहेका छन् ।

Shares

Be the first to comment on "संक्रमितको परिचय नखुलाउन सञ्चारमाध्यमलाई सचेत"

Leave a comment

Your email address will not be published.


*