सडकपेटी खाली गर्न जिरी नगरपालिकाकाे निर्देशन

ताजा समाचारको लागि फलो गर्नुहोस ।


राजकुमार भुजेल
चरिकोट, असार ५
दोलखाको जिरी नगरपालिकाले सडकपेटी खाली गर्न निर्देशन दिएको छ। जिरीको मुख्य बजारको सडकपेटी अतिक्रमण हुँदा पैदलयात्रुलाई समस्या भएको गुनासो बढेपछि नगरपालिकाले सो निर्देशन दिएको हो ।
सडकपेटी पैदलयात्रीका लागि निर्माण गरिएको हो । तर व्यापारीको कब्जामा परेपछि पैदलयात्रीले निर्बाध रूपमा सडकपेटी प्रयोग गर्न नपाएको र सडकबाटै जोखिम मोलेरै हिँड्नु परेको गुनासो छ । सडकपेटीमा विभिन्न निर्माण सामाग्री राख्ने, बिक्री वितरणका सामाग्री राख्नु पैदलयात्रीको हित विपरीत रहेकोले पटकपटक सचेत गराएको भएपनि उक्त कार्य नरोकिँदा समस्या भएको पालिकाका प्रमुख प्रशासकीय रामप्रसाद आचार्य ले जानकारी दिनुभयो। ”फुटपाथ व्यापारिक प्रयोजनको लागि निर्माण गरिएको होइन । तर व्यापारीले कब्जा गरेका छन् ।“ उहाँले भन्नुभयो ”यस्तो गर्नु दण्डनीय तथा उपभोक्ता र पैदलयात्रीको हित प्रतिकुलको कार्य हो । त्यसैले सूचना प्रकाशित गरी उपभोक्ता हित विपरीतका सडक अतिक्रमण कार्य तुरुन्तै रोक्न निर्देशन दिइएको छ ।“
पालिका को वडा नं. ५ स्थित लिंकन बजार क्षेत्र वरपरका विभिन्न व्यक्ति तथा व्यवसायीहरूको तर्फबाट विभिन्न बहानामा सडक पेटी अतिक्रमण गरी सार्वजनिक आवागमनलाई अवरोध गरेको पाइएको छ। उक्त अवरोधहरू हटाई अविलम्ब सडक पेटी खाली गर्नुपर्ने पालिकाको निर्देशन छ । जिरीमा सडकपेटी अतिक्रमण हुँदा पैदलयात्रीलाई सास्ती हुने गरेको छ। यसले पर्यटकीय बजारलाई अव्यवस्थित र कुरूप मात्रै बनाएको छैन, दुर्घटनाको जोखिम समेत बढाएको छ । सडकपेटी खाली गर्न सूचना मार्फत जानकारी सहित निर्देशन दिइएको छ । सूचनाको वेवास्ता र निर्देशन बमोजिम नभए नगरपालिका कारबाही प्रक्रियामा उत्रिने बाध्य हुने जनाएको छ। पछिल्लो समयमा फुटपाथमा व्यापार गर्नेको संख्या बढेको छ। जसले गर्दा बजारमा व्यवस्थापन जटिल बन्दै गएको छ।

Shares

Be the first to comment on "सडकपेटी खाली गर्न जिरी नगरपालिकाकाे निर्देशन"

Leave a comment

Your email address will not be published.


*