सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा क्रिकेटर सन्दिप लामिछाने नेपाली इतिहासमै पहिलो पटक इण्डियन प्रिमियर लिग आइपिएल खेल्ने खेलाडी बन्ने भएका छन् । १७ वर्षिय युवा खेलाडी सन्दिप लामिछानेलाई आइपिएल अक्सनको दोस्रो दिन भारतीय क्रिकेट टिम ‘देल्ही डेयर डेभिल्स’ले २० लाख भारतीय मुल्यमा खरिद गरेको हो ।

लेग स्पेनर लामिछाने आइपिएलको बोलाबोलमा पर्ने एकमात्र नेपाली खेलाडी थिए । आइपिएलबाट खेल्ने पक्का भएपछि नेपालमा लामिछानेको चर्चा चुलिएको छ ।

काठमाडौं । नेपालका युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् । सन्दिपलाई दिल्लीले आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट २० लाख भारतीय रुपैयाँमा आफ्नो क्लबमा आवद्ध गरेको हो । आईपीएलका लागि छनोट हुने लामिछाने पहिलो नेपाली क्रिकेटर हुन् ।

यस्तो छ सन्दिपको क्रिकेट करिअर

विश्वकपमा ह्याट्रिक
सन्दिप लामिछाने नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यतिमात्रै नभएर विश्व क्रिकेट जगतकै ध्यान तान्न सक्ने प्रभावशाली खेलाडी हुन् उनी । सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्याण्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्रै बनाएको थियो । आयरल्याण्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दिपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
आयरल्याण्डविरुद्ध सन्दिपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । पहिलो स्थानमा भने नामिवियाका फ्रिट्ज कोएत्जी भए । सन्दिपले विश्वकपमा १४ विकेट लिए भने कोएत्जीले १५ विकेट लिएका थिए ।

आईसीसी यु्–१९ विश्वकप छनोटमा २४ विकेट
गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यु–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दिप लामिछानेले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दिपले पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दिपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २.६२ को इकोनोमीमा बलिङ गरेका थिए ।

दोस्रो खेलमा पनि सन्दिपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दिपले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए ।

राउण्ड रोविनको आधारमा सञ्चालन खेलमा सन्दिपले पुनः सिंगापुर विरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । सन्दिपले मलेसियासँगको पाँचौं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दिपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए ।

छोटो समयमै छलाङ
सन् २००० मा जन्मिएका सन्दिपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जामा बिताएका सन्दिपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दिपले १०१६ मा डेब्यु गरेका थिए ।

२०१५ मार्च ४ तारिखमा चितवन गएका तत्कालिन नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दिपको खेल देखेर काठमाडौं बोलाएका थिए । अवसरको पर्खाइमा रहेका सन्दिपको क्रिकेट यात्रा त्यहीदेखि सुरुवात भएको हो ।

सामान्य परिवारमा जन्मिएका सन्दिप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए । दुबै खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो । त्यसपछि सन्दिप नेपाली टिममा निरन्तर छन् । उमेर समूहमा पनि उनले पटक पटक चमत्कारिक प्रदर्शन गरेका छन् ।

Shares

Be the first to comment on "सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी"

Leave a comment

Your email address will not be published.


*