स्वास्थ्य स्वयंसेवामा रमाउनेहरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २२
महिला स्वास्थ्य स्वयंसेविका । नामै काफी छ । जसको दायित्व हो, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा सहयोग गर्नु । त्यसैले भन्ने गरिन्छ–महिला स्वास्थ्य स्वयंसेविका समुदायको पहिलो “डाक्टर” ! यस्तो डाक्टर, जसले व्यक्ति बिरामी भएपछि उपचार गर्ने होइन, उसलाई बिरामी हुनै नदिनका लागि स्वास्थ्य सुरक्षा कवच बनिरहेका हुन्छन् । गरिरहेका छन् । उनीहरूसँग कुनै विश्वविद्यालयको डिग्रीको सर्टिफिकेट छैन । तर समुदायलाई “विश्वविद्यालय” ठान्ने उनीहरू, अनुभवले अरु भन्दा कम पनि छैनन् । समुदायलाई योगदान गरेबापत राज्यले उनीहरूलाई भरपुर खुशी त दिएको छैन नै । तर आफ्नो योगदानको प्रभावले समुदायमा स्वास्थ्य सुधार र सुदृढीकरणमा सहयोग पुग्दा उनीहरू निकै खुशी हुने गरेका छन् । समुदाय स्वस्थ हुने र समृद्धिको उद्देश्य प्राप्तिमा राज्यलाई पनि सघाउ पुग्ने हुँदा स्वयं सेवामा समर्पित हुनेहरू अधिकांशले आफूलाई भाग्यमानी ठान्छन् ।
वर्षौँदेखि स्वास्थ्य क्षेत्रका लागि स्वयंसेवामा समर्पित मेलुङ गाउँपालिकाका सम्झना खड्काले आफूलाई भाग्यमानी ठान्नुहुन्छ । स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको स्थान र भूमिका उल्लेखनीय रहेको बताउँदै आफू उक्त स्थानमा हुन पाउँदा खुशी रहेको सुनाउनुभयो । “चाहना त नर्स बनेर समाज सेवा गर्ने थियो  । परिस्थितिले स्वास्थ्य स्वयंसेविका बनायो ।” उहाँले भन्नुभयो, “तर पनि खुशी छु । किनकी समुदायमा नर्स र डाक्टर भन्दा पहिला हामी नै पुग्छौँ ।” उहाँले स्वयंसेविका भएर काम गरेको धेरै भयो । सो अवधिमा उहाँले जीवनमा थुप्रै अभाव र कष्टको सामना गर्नुप¥यो । जीवनमा कति उताडचडाब आए । तर उद्देश्य र काम प्रति कहिल्यै विचलित हुनुभएन । त्यसैले स्वयंसेवाको हालसम्मको समयावधि स्वर्णिम भएको उहाँ ठान्नुहुन्छ । “आफ्नो स्वार्थमा कुनै काम गरिन, बितेको समयमा आफ्नो समुदाय र राज्यको निम्ति थुप्रै काम गरेँ जस्तो लाग्छ ।” उहाँले भन्नुभयो “मैले आफ्नो तारिफ गर्नुभन्दा पनि समुदायले यसको उचित मूल्याङ्कन गरिरहेका छन् ।”
स्वयं सेवा तथा समाजसेवा आफ्नो स्वार्थ सिद्धिका लागि नभई समाजको हितमा गर्ने परोपकारी काम भएको उहाँले बताउनुभयो । राज्यले स्वयं सेवामा खटिए बापत तलबसुविधा दिनुपर्ने कतिपयको माग भएपनि उक्त मागको लागि मरिमेट्न नहुने उहाँको बुझाइ तथा सुझाव समेत छ । उहाँले स्वयं सेवा सुरु गर्दा र अहिलेको अवस्थामा आकाश र पातालको फरक छ । उक्त फरकपन आउनमा स्वयंसेविकाहरुको समेत महत्वपूर्ण भूमिका रहेको छ । अहिले समाज स्वास्थ्य प्रति संवेदनशील र सजग भइसक्यो । तर स्वयंसेविकाको महत्व र आवश्यकता समाजमा कायमै रहेको उहाँ बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा निकै परिवर्तन र सुधार भएका छन् ।” उहाँले भन्नुभयो “त्यो परिवर्तन स्वयं सेविका बिना सम्भव थिएन । त्यसैले स्वयं सेविकाको महत्व डाक्टर र नर्सको झैं छ ।” स्वयंसेविकाले कति अभावमा काम गरे । कति कुरा गुमाए । तर समाजलाई थुप्रै योगदान दिए । त्यसैको मुल्यांकन गर्दै समाजले सम्मान दिएको छ । त्यसैले खुशी छन् स्वयं सेविका ।

अमृता ठकुरीले विगु गाउँपालिका वडा नंं २ ओरामा स्वयंसेविका भएर काम गरेको लामो समय भयो । अरुको निम्ति काम गर्दै गर्दा आफ्नो स्वार्थ, दुख र पीडाहरु भुलेको उहाँले सुनाउनुभयो । स्वस्थ र निरोगी समाजको परिकल्पना साकार पार्न सक्रिय हुँदाहुँदै उहाँलाई उमेर र समय बितेको पत्तै भएन । स्वस्थ नागरिकको खुशीमा खुशी हुँदै, अस्वस्थ व्यक्तिको पीडा अनुभूति गरी सहयोग र समन्वय गर्दागर्दै उहाँको समय बित्यो । बुढ्यौलीले छुँदै छ  । तर उहाँमा पुरानै जोश र जाँगर छ । समाज प्रतिको दायित्व बोध ताजै छ । “राज्यबाट सुविधा सेवा लिने मात्र होइन, राज्यलाई मन खोलेर दिन पनि जानुपर्छ ।” उहाँले भन्नुभयो “अनि पो नागरिकको भूमिका पूरा हुन्छ ।” उहाँले आफूहरुको गुनासो सरकार समक्ष धेरै नरहेको सुनाउनुभयो । “राज्य प्रति एउटै मात्र आश छ । जीवनभर अरुको स्वास्थ्यको चिन्तामा काम ग¥यौँ । बुढेसकाल र बिरामी हुँदा राज्यले हाम्रो चिन्ता गरोस् ।”
जिल्लामा कति छन्, स्वास्थ्य स्वंयसेविका
स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा एक हजार २ सय ५५ जना स्वास्थ्य स्वयंसेविकाहरु परिचालित छन् । जसअन्तर्गत सबैभन्दा बढी कालिञ्चोक र मेलुङ गाउँपालिकामा समान १ सय ६५ जना रहेका छन् । भीमेश्वर नगरपालिकामा १ सय १६, जिरी नगरपालिकामा १ सय २, विगुमा १ सय ३१, गौरीशंकरमा १ सय ३४, तामाकोशीमा १ सय ४०, शैलुङमा १ सय ५१ जना महिला स्वास्थ्य स्वयमसेविका कार्यरत छन् । कार्यालय प्रमुख उत्तम खनालले समुदायमा स्वास्थ्य सचेतनाका लागि महिला स्वास्थ्य स्वंयसेविकाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सर्ने तथा नसर्ने रोगको जानकारी, मानसिक, शारीरिक तथा प्रजनन् स्वास्थ्य बारे परामर्श र सन्देश प्रवाह गर्नुका साथै त्यस्ता रोगको रोकथाममा उनीहरुको भूमिका प्रभावकारी रहेको छ । स्वास्थ्य संस्था र बिरामीबिचको पुल समेत उनीहरु नै बन्ने गरेका छन् । महिला तथा बालबालिकाको सामान्य उपचार, परामर्श, खोप अभियान, सरसफाइ लगायतमा अग्रसर हुने गरेका छन् । बेलाबेलामा स्वास्थ्य संस्था तथा निकायले उनीहरूलाई क्षमता अभिवृद्धिका लागि तालिम समेत प्रदान गर्ने गरेका छन् । जसले उनीहरूलाई सेवा प्रति लगाब बढ्नुका साथै समुदायको समेत विश्वास जित्न सफल भएको कार्यालय प्रमुख खनालले सुनाउनुभयो । कोरोना महामारीमा समेत उनीहरुको सक्रियताले समुदायमा कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पुगेको बताउँदै कार्यालय प्रमुख खनालले समुदायको स्वास्थ्य चिन्ता लिने स्वंयसेविकालाई सबैले सम्मान गर्दै उनीहरुको कुराहरुको परिपालना गरी स्वस्थ हुन आग्रह गर्नुभयो ।
प्रोत्साहित गर्दै स्थानीय तह
गाउँ टोलमा परिचालित हुने स्वास्थ्य स्वयंसेविकाहरुको मनोबल उच्च पार्न र स्वयं सेवालाई निरन्तरता दिदैँ प्रभावकारी सेवा कायम राख्न सरकारले प्रोत्साहित गरेको छ । यसका निम्ति सरकारले यातायात, पोषाक र सञ्चार भत्ता वितरण गर्दै आएको छ । केही स्थानीय तहले भत्ता रकम थपिदिएका छन् । जिल्ला स्थानीय तहहरुले आगामी नीति तथा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गरेका छन् । जसले उनीहरुमा उत्साहसँगै जिम्मेवारी थपिदिएको छ । जिल्लाको भीमेश्वर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य स्वयं सेविका मार्फत समुदाय स्तरमा प्रभावकारी सेवा पु¥याउने उल्लेख गरेको छ । गौरीशंकर गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल उच्च राख्न प्रोत्साहनको व्यवस्था मिलाइने भनेको छ । कालिञ्चोक गाउँपालिकाले महिला स्वयं सेविकाको सुविधा क्षमता बढाएर गाउँपालिका वासीको घरमै स्वास्थ्य सुविधा पु¥याउने उल्लेख गरेको छ  । अन्य पालिकाहरुले पनि महिला स्वयंसेविकाहरुको योगदानको कदर गर्दै सम्मान र प्रोत्साहन गर्ने कार्यक्रम तथा योजना बनाएका छन् ।

Shares

Be the first to comment on "स्वास्थ्य स्वयंसेवामा रमाउनेहरु"

Leave a comment

Your email address will not be published.


*