हामीले एकदिवसीय मान्यता गुमाउँदैनौं : प्रशिक्षक पुबुदु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

३ साउन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्यान्डमा भएको शृंखलामा खराब प्रदर्शनपछि स्वदेश फर्किएका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नेपालले एकदिवसीय मान्यता कायम राख्ने विश्वास व्यक्त गरेका छन् ।मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले स्कटल्यान्डमा राम्रो प्रदर्शन गर्न नसके पनि नेपाल अझै लिग टुमा शीर्ष तीनको लक्ष्यमा रहेको बताएका छन् । नेपाल शीर्ष तीनमा पर्न नसके पनि शीर्ष ५ भित्र पर्दै एकदिवशीय मान्यता बचाउने उनले विश्वास व्यक्त गरेका छन् ।

‘नेपालले एकदिवशीय मान्यता गुमाउँदैन । यो कुरा म अहिल्यै भन्न सक्छु । नेपालले अझै १६ खेल खेल्न बाँकी छ । हामी शीर्ष ३ मा पर्ने सम्भावना अझै कायमै छ, त्यो नभएको खण्डमा पनि हामी शीर्ष पाँच भित्र पर्नेछौं’, उनले भने ।

नेपाली टोलीमा युवा खेलाडीको वर्चस्व रहेको तथा अनुभवको कमी रहेका कारण नेपालले राम्रो प्रदर्शन गर्न नसकेको उनले बताए । ‘हामीले खेलमा राम्रो गर्न नसक्नुको मुख्य कारण यो टोलीमा युवा ब्याटर धेरै थिए । जसका कारण उनीहरुसँग अनुभवको कमी थियो । कुन समयमा कसरी खेल्ने भन्ने कुरा उनीहरुमा परिपक्वता आउँदै गरेपछि यो समस्या नआउला ।’

Shares

Be the first to comment on "हामीले एकदिवसीय मान्यता गुमाउँदैनौं : प्रशिक्षक पुबुदु"

Leave a comment

Your email address will not be published.


*