दोलखामा यो वर्ष पहिलो पटक हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, फागुन १५
दोलखामा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको छ । पुस र माघ महिनामा अध्याधिक हिमपात हुने जिल्लामा यो वर्ष ढिला गरी फागुनमा हिमपात भएको हो ।
विगत वर्षमा मंसिरबाटै उच्च भुभागमा हिमपात हुने भएपनि यो वर्ष भने ढिलागरी हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा अवस्थित कालिञ्चोक, शैलुङ लगायतका क्षेत्रमा आइतबारदेखि वर्षासँगै हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।
यो वर्ष पहिलो पटक माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपात र तल्लो क्षेत्रमा वर्षा भएपछि पर्यटन व्यवसायी र किसानहरु खुशी भएका छन् । कालिञ्चोकका होटल व्यवसायी चन्द्र कुमार लामाले लामो समयपछि हिउँ परेकोले पर्यटकहरुको आवागमन बढ्ने बताउनु भयो । उहाँका अनुसार कालिञ्चोकमा अरु समय आन्तरिक तथा बाह्य पर्यटकहरु कमै आउने गरेपनि हिउँ परेको समयमा भने ठूलो पर्यटक आउने गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा रहेका किसानहरुलाई हिमपातसँगै वर्षा भएपछि राहत मिल्ने भएको छ । शैलुङका किसान रामबहादुर खातीले आलु लगायतका तरकारी तथा अन्नबालीमा हिमपातसँगै वर्षाले केही मात्रामा सिंचाइ पुगेको बताउनु भयो ।
लामो समयसम्म हिमपात नहुँदा जिल्लामा सुख्खापन बढ्नुका साथै खडेरी बढेको थियो । डाँडाकाँडा, पाखा पखेरा उजाड बन्न थालेको थियो । हिमालहरु कालपत्थरमा परिणत हुन थालेका थिए । वन डढेलोको घटनाहरु बढ्न थालेको थियो । खडेरीका कारण खेतबारीमा अन्नबाली सुक्न थालेको थियो । पर्यटकीय चहलपहल वृद्धि हुन सकेको थिएन । ढिलै भएपनि वर्षासँगै हिमपात भएपछि जिल्लामा उत्साह छाएको छ । गर्मीयाम सुरु भएकै बेला हिउँ परेपछि चिसो बढेको छ ।

Shares

Be the first to comment on "दोलखामा यो वर्ष पहिलो पटक हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित"

Leave a comment

Your email address will not be published.


*