नेपालको जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ (दीस) ः नेपालमा अहिलेको नै जनसंख्या बृद्वि कायम रहेमा नेपालको जनसंख्या दोब्बर हुन ७५ बर्ष लाग्ने तंथ्याक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङक कार्यालयले जनगणनाका नतिजा र जनगणना सञ्चालन सँग सम्बन्धित विषयगत चार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको छ । आइतबार राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख तथ्यांक अधिकृत तोयम रायाले राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकलाई विश्लेषण गरी तयार गरिएका विषयगत प्रतिवेदन सार्वजनिक गर्नु हुँदै नेपालको कूल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको बताउनु भयो ।
सार्वजनिक तंथ्याक अनुसार वार्षिक औसत जनसंख्या वृद्धि दर शुन्य दशमलव ९२ प्रतिशतका दरले वृद्धि भएको देखिएको छ । देशका ३४ जिल्लामा वार्षिक जनसंख्या ऋणात्मक रहेको छ । सबैभन्दा बढी ऋणात्मक वृद्धिदर रामेछापमा माइनस १ दशमलव ६७ प्रतिशत रहेको छ । सबैभन्दा बढी धनात्मक राजधानी काठमाडौँमा जनसंख्या बृद्वि दर रहेको छ । काठमाडौँमा ७ प्रतिशतले बार्षिक जनसंख्या बढेको देखिएको छ । जसमा सबै भन्दा बढी तराईका सबै जिल्लाका जनसंख्या धनात्मक रहेको छ । नेपालमा पहिलो पटक १९६८ सालमा लिएको जनगणना सँग तुलना गर्दा अहिले करिब पाँच गुणाले जनसंख्या वृद्धि भएको छ । करिब दुई तिहाइ अर्थात् ६६ प्रतिशत जनसंख्या नगरपालिका क्षेत्रमा रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैगरी १० बर्षमा नेपालमा साक्षरता दर नौ दशमलव छ प्रतिशतले वृद्धि भई ७६ दशमलव दुई प्रतिशत पुगेको छ । नेपालमा साक्षरता दरमा महिला भन्दा बढी पुरुषको जनसंख्या रहेको छ । जसमा महिलाभन्दा पुरुष साक्षरता दर करिब १४ प्रतिशत बढी रहेको तंथ्याकमा उल्लेख गरिएको छ । पहाडमा सबैभन्दा बढी ८० दशमलव ९ र हिमाल तथा तराईमा लगभग बराबर अर्थात् ७३ प्रतिशत साक्षरता दर रहेको छ ।
त्यस्तै अन्य लिङ्गीको जनसंख्या दुई हजार नौ सय २८ रहेको प्रतिवेदनमा उल्लेख छ । घर तथा परिवारको अवस्था सम्बन्धी प्रतिवेदनमा ६६ लाख ६० हजार आठ सय ४९ परिवार मध्ये ८६ प्रतिशत आफ्नै स्वामित्वमा भएको आवासीय एकाइमा, १२ दशमलव आठ प्रतिशत भाडाको घर र बाँकी सरकारी वा संस्थागत कार्यालयसहितका आवासीय एकाइमा बसोबास गर्ने उल्लेख छ ।
विसं २०७८ को जनगणना अनुसार परिवारको आकार औसतमा चार दशमलव चार जना रहेको, सुदूरपश्चिम र मधेस प्रदेशमा चार दशमलव सात, नगरपालिकामा चार दशमलव तीन र गाउँपालिकामा चार दशमलव पाँचजना सदस्य परिवारमा रहेका छन् ।

Shares

Be the first to comment on "नेपालको जनसंख्या दोब्बर हुन ७५ वर्ष लाग्ने"

Leave a comment

Your email address will not be published.


*