चरिकोटबाट काँकडभित्ता बस सेवा सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, १ जेठ
दोलखाको चरिकोटदेखि झापाको काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको छ । रोजगारीका लागि धेरै दोलखालीहरु भारतको सिक्किम र पश्चिम बंगालमा रहेकाले उनीहरुको सुविधाका लागि काँकडभित्तासम्म सिधा बस सेवा सुरु भएको हो ।
दोलखाको रोल्वालिङ यातायात सहकारी संस्थाको अगुवाइमा चरिकोटदेखि काँकडभित्तासम्म बस सेवा सञ्चालनमा आएको हो । बुधबारबाट सेवा शुरु गर्ने पहिलो बस बा. ५.ख ५४०१ का चालक मञ्जिल खड्कालाई रोल्वालिङ यातायातका अध्यक्ष बालकृष्ण आचार्य र जिल्लाका ट्राफिक प्रहरी प्रमुख चन्दमान तामाङलगातले खादा लगाएर काँकडभिट्टाका लागि विदाई गरे। बुधबारको पहिलो क्युले चरिकोटबाट काकडभिट्टाका लागि १८ जना यात्रु बोकेर छुटेको रोल्वालिङ यातायातको चरिकोट काउण्टरका कर्मचारी तिलक थापाले जानकारी दिए ।
चरिकोटदेखि काकडभिट्टासम्मको भाडा तत्कालका लागि ११ सय रुपैयाँ तोकेको रोल्वालिङ यातायातले वैज्ञानिक दरअनुसार छिट्टै भाडा कायम गर्ने बताएको छ । ‘अहिले तत्कालका लागि सेवा शुरु गर्न ११ सय रुपैंया निर्धारण गरेका हौं’ रोल्वालिङका अध्यक्ष आचार्यले भने, ‘सरकार र यातायात महासंघले निर्धारण गरेको अनुसारको वैज्ञानिक भाडादर लागु गर्दा यो दर तल माथि हेरफेर समेत हुन सक्छ ।’ हालका लागि चरिकोटबाट दैनिक २ बजे र काकडभिट्टाबाट चरिकोटका लागि दैनिक ५ बजे बस छुट्ने व्यवस्था समितिले गरेको छ ।
पछिल्लो चरण्मा रोल्वालिङ, अरनिको र विपी यातायात बीच सहमति भएको छ । तर पूर्वका मेचीमा धेरै यातायात समिति भएकाले उनीहरु बीचमा सहमति हुन नसक्दा ढिला भएको रोल्वालिङका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए ।
अब उनीहरु बीच सहमति भए पनि नभए तापनि बैशाख दोस्रो सातापछि बस सेवा चल्ने उनले बताए । चरिकोटदेखि काँकडभित्तासम्मको दूरी ४ सय ६० किलोमिटर छ । जिल्ला ट्राफिक कार्यालय चरिकोटका प्रमुख चन्द्र तमाङले लामो बाटो र रातीको समय भएकाले बसमा २ जना ड्राइभर राख्न सुझाव दिए ।
यो बस सेवा सञ्चालन भएपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको दोलखामा दार्जि्लिङ हुँदै भारतिय र पूर्वी नेपालका पर्यटक आउन अझ सहज हुने आशा जिल्लाबासीको छ।सिधा बस सेवा सञ्चालनका लागि पछिल्लो ३ महिनामा चरिकोट र काठमाडौंमा विभिन्न व्यवसायीक समितिहरुसँग छलफल हुँदै आएको थियो । विगतमा वीपी राजमार्गमा बसको परमिट नलाउने लगायतका समस्याका कारण सोचेको समयमा बस सो सुरु गर्न नसकेको उनले बताए । अब सरकारले पनि परमिट दिंन सहज वातावरण बनएकाले चरिकोटदेखि सिन्धुली हुँदै काकडभित्तासम्मको परमिट पाए लगत्तै बस सेवा सुरु गरेको उनले बताए ।
रोल्वालिङले २ वर्ष अघि नै चरिकोटबाट बस छुटाए तापनि त्यो बस सिन्धुलीमा अवरोध भएपछि रोकिएको थियो । चरिकोटबाट छुटेको बस रामेछाप, सिन्धुली बर्दिबास हुँदै काँकडभित्ता पुग्ने छ । भोलीपल्ट सोही बस काँकडभित्ताबाट चरिकोटसम्म चल्ने छ । बस दैनिक रात्री सेवामा चल्ने रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
रोल्वालिङ यातायातले ३ वर्ष अघि नै झापाको मेची यातायातसँगको सहकार्यमा बस सञ्चालन तयारी गरेको थियो । पछि ढोली खोलाको पुल बगाएको र वीपी राजमार्गमा बसलाई परमिट विवाद लगायतका कारणले रोकिएको थियो ।
सिधा बस सेवा सञ्चालन भएपछि दोलखा र रामेछापबाट व्यवसाय र रोजगारका सिलसिलामा भारतको सिक्किम, दार्जिलिङ पुगेकाहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यसैगरी पूर्वी नेपालबाट दोलखाको भ्रमणमा आउनेहरुलाई पनि सहज हुने छ । यात्रुहरुको माग र आवश्यकताका आधारमा सिधा बस सेवा सञ्चालन गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
टिकटका लागि चरिकोटमा रोल्वालिङ यातायातको काउण्टरबाट काटिने छ भने तामाकोसी, मालुखोला, खिम्ती र मन्थलीमा अरनिको भीमेश्वर यातायात प्रालिले काट्ने छ । त्यसैगरी सिन्धुलीमा वीपी यातायातले टिकटको व्यवस्था गर्ने छ भने पूर्वमा मेची यातायात समितिको समन्वयमा टिकटको व्यवस्था गर्ने सहमति भएको रोल्वालिङ यातायातका सचिव शान्तिप्रसाद ओलीले जानकारी दिए ।

Shares

Be the first to comment on "चरिकोटबाट काँकडभित्ता बस सेवा सुरु"

Leave a comment

Your email address will not be published.


*