माथिल्लो तामाकोशी आयोजना: बाँध र डिस्यान्डर बेसिन परीक्षण सुरु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा : राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सोमबारबाट सुरु भएको छ । आयोजनाको बाँधमा रन अफ रिभर शैलीबाट पानी जमाएर बालुवा थिग्राउने पोखरी (डिस्यान्डर बेसिन)मा पठाइ सोमबारबाट बाँधलगायतका संरचनाको प्राविधिक परीक्षण सुरु गरिएको हो । भूकम्पको कारण १७ इन्च भाँसिएको बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरेपछि बाँधलगायतको संरचनाको पहिलोपटक परीक्षण गरिएको हो ।

६० मिटर लम्बाइ र २२ मिटर उचाइको बाँध, इन्टेक, गेट, स्टपलग र दुईसय मिटर लम्बाइको बालुवा थिग्राउने पोखरी लगायतको सोमबार बिहान ९ बजेबाट परीक्षण सुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रबक्ता डा.गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाले अन्तराष्ट्रिय मापदण्डअनुसार सोमबारबाट २१ दिनसम्म अर्थात चैत २२ गतेसम्म भूमिगत सुरुङपूर्वका सम्पूर्ण संरचनाको प्राविधिक परीक्षण गर्ने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

आयोजनाले यसअघि भूमीगत विद्युत् गृहको सफल सुख्खा परीक्षण सम्पन्न गरिसकेको थियो ।नदीको पानीलाई बाँधमा रहेको ८वटा गेट बन्द गरेर जलाशय बनाइ २१ दिनसम्म आयोजनाको बालुवा थिग्राउने पोखरीमा पानी भर्ने र छोड्ने काम गरिन्छ । सुरुङमा पानी पठाउनु पूर्व बाँधस्थल क्षेत्रका संरचना दुरुस्त भए नभएको पत्ता लगाउनका लागि परीक्षण गरिएको प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

बाँधमा तामाकोशी नदीको पानी रोक्ने र छोड्ने कार्यहरु गरिरहनुपर्ने र कुनै बेला एकैपटक ठूलो मात्रामा पनि पानी छोड्नुपर्ने भएको कारण बाँधभन्दा तल्लो तटीयका १५ भन्दा बढी बस्ती र रामेछाप जिल्लाको खुर्कोटसम्मका नागरिकलाई सतर्क रहन आयोजनाले अनुरोध समेत गरेको छ ।

आयोजनाको कठिनमध्ये मानिएको माथिल्लो तथा तल्लो ठाडोसुरुङमा पेनस्टक जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ । चैत २ गतेसम्ममा ३७३ मिटरको तल्लो ठाडोसुरुङमा २४० मिटर तथा ३१० मिटरको माथिल्लो ठाडोसुरुङमा १५० मिटर पेनस्टक पाइप जडान सम्पन्न भएको उनले बताए ।

पेनस्टक जडानको क्रम बढ्दै जाँदा जडानको समयावधि कम लाग्ने तथा कंक्रिटिङको काम पनि तुलनात्मक रुपमा सहज हुने हुनाले जडानको गति बढ्दै जाने प्रवक्ता न्यौपानेले विश्वास व्यक्त गरे ।

प्रसारण लाइनको निर्माण कार्य करिब सम्पन्न भइसकेको छ । रामेछापको फुलासीमा निर्माणाधिन सबस्टेसनको सिभिल संरचनाको काम सम्पन्न गरी उपकरण जडानको काम सुरु भइसकेको छ । ९९ दशमलब ३ प्रतिशत निर्माण सम्पन्न आयोजनाले हालसम्म करिब ४८ अर्ब खर्च भुक्तानी गरेको जनाएको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोशी आयोजना: बाँध र डिस्यान्डर बेसिन परीक्षण सुरु"

Leave a comment

Your email address will not be published.


*