विगूका सडक दसैं अघि चल्ने,शिक्षकलाई दण्ड पुरस्कार ,कृषिमा ७० प्रतिशत अनुदान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, ७ असोज
विगू गाउँपालिकाले दसैं अघि नै सबै सडक सुचारु गर्ने भएको छ । वर्षात् क्रमशः घट्दै गएकाले आउँदो दसैं अघि गाउँपालिका भित्रका ग्रामीण सडक सुचारु गराउन सडक सफा गर्न थालेको छ ।
गाउँकार्यपालिकाको बैठकले नै पहिलो चरणमा ग्रामीण सडकमा आएका पहिरो पञ्छाउने र खाल्डाखुल्डी परेर यातायात सुचारु गराउने निर्णय गरे अनुसार शनिबारदेखि स्काभेटर लगाएर काम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । गाउँपालिकाले पहिलो चरणमा सिंगटी–देखि लादुक, बुलुङ ओराङ, सिंगटी–सोरुङ–खोपाचागू, सोरुङ–चिलंखा–विगू सडक सफाइ सुरु भएको छ ।
सडक सफाइ र खाल्डाखुल्डी पुर्नका लागि गाउँपालिकाले डोजर परिचालन गरेको छ । गाउँपालिकाको आफ्नो एउटा स्काभेटर तेल मात्र हालेर चलाइ रहेको छ । आफ्नो गाउँपालिकाको मात्र स्काभेटरले सबैतिर नभ्याउने भएपछि निजी स्काभेटर समेत परिचालन गरेको ओलीले जानकारी दिए । “विगतमा निजी क्षेत्रका स्काभेटर प्रयोग गरेर प्रतिघण्टा ५५ सयसम्म भाडा तिरियो” उनले भने “यसपालि सूचना निकालेर घटाघटमा प्रस्ताव माग्दा ४६ सयमा आवेदन परेकाले त्यसै अनुसार निजी स्काभेटर प्रयोग गरियो ।” जिल्लाभर गतवर्षसम्म ६ हजारसम्म प्रतिघण्टा भाडा तिर्दा समेत चालक, खर्च सहित विविध खर्च समेत हुन्थे अहिले त्यो बन्द भएको उनले बताए ।
चालु आर्थिक वर्षमा विगू गाउँपालिकाले नयाँ ट्रयाक खोल्ने योजना बजेटमा व्यवस्था गरेको छैन । प्राविधिक टोलीलाई फिल्डमा खटाएर योजनाको स्टमेट तयार गर्ने काम भइरहेको छ । स्टमेट तयारीको काम अन्तिम चरणमा पुगेको सव इन्जिनियर नन्दप्रसाद शिवाकोटीले जानकारी दिए । अब स्टमेट सकिएपछि पूर्वाधारको काम सुरु हुने उनले जानकारी दिए । एक वर्षको सिकाइले अब विकासे योजना दिगो र भरपर्दो रुपमा गर्ने गरी जनप्रनिधिहरु समेत प्रतिबद्ध रहेको उनले बताए ।
स्टमेट पूरा गरेपछि ७ दिने सूचना जारी गरेर उपभोक्ता समिति गठन गर्ने गाउँपालिकाको योजना छ । तोकिएको समय भित्र उपभोक्ता गर्न हुन नसक्ने योजनाहरुलाई ठेक्का प्रणालीमार्फत काम गर्ने तयारी छ । गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले अब जति काम हुन्छ त्यसलाई भरपर्दो बनाउँने बताए । ठूलो भूगोल भएकाले पूर्वाधार विकासमा ठूलो बजेट चाहिने भए तापनि संघीय सरकार र प्रदेश सरकारले आफ्नो गाउँपालिकालाई बजेट कम दिएको उनको गुनासो छ ।
कृषिमा ७० प्रतिशत अनुदान
विगू गाउँपालिकाले समूह मार्फत गर्ने पशुपालन र खेतीमा ७० प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ । कृषिलाई व्यवसायिकरण गर्नका लागि ३० प्रतिशत समूहको लागत सहभागितामा ७० प्रतिशत अनुदान दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए । अहिले विशेष गरी माछापालनका लागि यस्तो अनुदान दिन लागेको हो ।
स्थानीयस्तरमा माछाको अत्याधिक माग बढेकाले व्यक्तिगत वा समूहमा माछापालन व्यवसायलाई प्रोत्साहनका लागि यस्तो व्यवस्था गरेको उनले बताए । विगू गाउँपालिकामा अहिलेसम्म तामाकोसी नदी र सिंगटी खोलाबाट मात्र प्राकृतिक रुपमा माछा उत्पादन हुँदै आएको छ । सिंगटी बजार र आसपासका क्षेत्रमा माछा खानकै लागि पर्यटकहरु पुग्ने गरेका छन् ।
शिक्षकलाई दण्ड पुरस्कार
विद्यालयलाई पुरस्कार र दण्ड जरिवानाको व्यवस्था गरेको छ । अनुगमणका आधारमा गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो । गाउँ शिक्षा समितिले आइतबारदेखि नै लामाबगरबाट अनुगमण सुरु गरेको छ । त्यसैगरी हरेक वडामा २४ घण्टे प्रसुती सेवा सञ्चालन गर्ने भएको छ । २४ घण्टे प्रसुती सेवा सुचारु गर्न पूर्वाधार तयारीको काम भइरहेको उनले बताए ।
सुत्केरी गराउन नसकेरै आमा र बच्चाको अकालमै ज्यान नजाओस् भन्ने विषयमा गाउँपालिका सचेत रहेको प्रशासकीय अधिकृत ओलीले बताए । अहिले जनशक्ति व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए ।

Shares

Be the first to comment on "विगूका सडक दसैं अघि चल्ने,शिक्षकलाई दण्ड पुरस्कार ,कृषिमा ७० प्रतिशत अनुदान"

Leave a comment

Your email address will not be published.


*