जिरी आउने पर्यटकलाइ आजदेखि ५० प्रतिशत छुट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
जिरी, १४ माघ
दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकहरुलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिईने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीहरुले जिरी भ्रमणमा आउने पाहुनाहरुका लागि यस्तो घोषणा गरेका हुन् ।
पर्यटकहरुलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीहरुले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिए । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडकहरु विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायीहरु आफैं सक्रिय भएका हुन् ।
जिरीमा पर्यटन प्रर्बद्धनका लागि स्थानीय व्यवसायीहरुको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै सुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर मेयर टंक जिरेलले जानकारी दिए । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रबद्र्धन गर्न पूर्वाधार निर्माणका काम समेत अघि बढाएको उनले बताए ।
जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायीहरु पनि थपिदै गएका छन् । आधुनिक सेवा सहित युवाहरुले एक दर्जन होटल भुकम्पपछि थपेका छन् । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायीहरु संगठित हुन थालेका छन् । जिरीका होटल व्यवसायीहरु भेला भएर केही दिन अघि बसन्त प्रधानको अध्यक्षतामा होटल संघ जिरी समेत गठन गरेका छन् । प्रधान होटल हेमन्तका सञ्चालक हुन् ।
“सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो,” अध्यक्ष प्रधानले भने “सडक खुलेपछि पर्यटकहरु जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसाय समेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौं ।” जिरीमा पर्यटकहरुको बसाइ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।
व्यवसायीहरुले अहिले बैशाखसम्मका लागि छुट अफर दिए पनि त्यसको प्रभावका आधारमा कार्यक्रम आउने व्यवसायीहरुले जानकारी दिए । माघ १५ देखि बैशाखको पहिलो सातासम्म कोठा भाडामा ५० प्रतिशत र खानाका परिकारमा समेत बिशेष छुट गर्ने निर्णय भएको होटल व्यवसायी समेत रहेका जिरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
समूहमा प्याकेज सहित आउनेहरुका लागि छुट हुँदै आए तापनि अब एकल वा प्याकेज नलिइ आउने पर्यटकहरुलाई समेत यस्तो सेवा दिन लागेको होटल संघ जिरीका महासचिव देवराज श्रेष्ठले बताए । दोलखाको कालिञ्चोक र भीमेश्वरमा अत्याधिक पर्यटक बढेर कुरीमा चरिकोटमा बस्ने ठाउँको समेत अभाव हुन थालेकाले अब ति पर्यटकहरुलाई जिरीसम्म ल्याउने ट्राभल एजेन्सीहरुसँग समेत समन्वय गर्ने व्यवसायीहरुको योजना रहेको उनले सुनाए ।
कोठा भाडामा ५० प्रतिशत छुट पाउने भएपछि जिरी जाने पर्यटकले सामान्य कोठा ३ देखि ४ सय, एटेच बाथरुम सहितको कोठा ५ सय देखि ६ सयसम्म र डिलक्स कोठा १ हजारसम्म पाउन सक्ने छन् ।
पर्यटकीय नगरी जिरीमा नन् एटेच र एटेज सहित ५० भन्दा बढी सुविधा सम्पन्न होटल छन् । भूकम्प पछि बनेका करिव २० वटा होटलहरुमा एटेच बाथरुम सहित सुपर डिलक्स सम्मका कोठाहरु उपलव्ध छन् । कोठा भाडामा ५० प्रतिशत छुट पाउने भएपछि जिरी जाने पर्यटकले सामान्य कोठा ३ देखि ४ सय, एटेच बाथरुम सहितको कोठा ५ सय देखि ६ सयसम्म र डिलक्स कोठा १ हजारसम्म पाउन सक्ने छन् । भूकम्पपछि जिरी भ्रमणमा आउने पर्यटकको सँख्या निरन्तर ओरालो लागिरहेको छ । पछिल्ला बर्षहरुमा सुविधा सम्पन्न होटल तथा लजहरु बनेपनि पर्यटक नहुँदा पर्यटन व्यवसाय घाटामा छ ।

Shares

Be the first to comment on "जिरी आउने पर्यटकलाइ आजदेखि ५० प्रतिशत छुट"

Leave a comment

Your email address will not be published.


*