दोलखामा नागरिक स्वास्थ्य वीमामा आकर्षित हुँँदै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार/चरिकोट,–दोलखामा स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि नागरिकहरु यसप्रति आकर्षित हुन थालेका छन् । रकम अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई लक्षित गरी जिल्लाको नौवटै स्थानीय तहमा २०७७ चैत्र २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो । यो कार्यक्रम लागु भएपछि जिल्लाका नागरिकहरुको यसप्रति चासो र आकर्षण बढेको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयले जनाएको छ । कार्यालय प्रमुख एवं दर्ता अधिकारी तेजप्रसाद लुईँटेलले सात महिनाको अवधिमा छ हजार भन्दा बढी घरपरिवार स्वास्थ्य बीमामा आबद्ध भएको बताउनुभयो । जसमा ७० वर्ष माथीका चार हजार जना जेष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एक सय जनाले निशुल्क बीमा गरेका छन् । ५० प्रतिशत छुटमा एक सय २० जना महिला स्वास्थ्य स्वयसेविकाले बीमा गरेका छन् । एक हजार घरपरिवारले शुल्क तिरेर स्वास्थ्य बीमा गरेका छन् । बीमा गराएका मध्ये कतिपयले सेवा उपभोग गरिसकेका छन् । पाँच जना सदस्य रहेको परिवारले तीन हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराउन सक्छन्, भने त्यसभन्दा बढी सदस्य भए थप शुल्क लाग्छ । स्वास्थ्य बीमाबाट एक लाखसम्मको उपचार सेवा पाउने व्यवस्था रहेको दर्ता अधिकारी लुईँटेलले सुनाउनुभयो । बीमा कार्यक्रम सञ्चालनको लागि जिल्लाको नौ वटै स्थानीय तहको ७४ वटै वडामा १–१ जना दर्ता सहयोगी कार्यरत छन् । उनीहरुले गाउँटोलमा गई स्वास्थ्य बीमाको आवश्यकता, महत्व, प्रक्रिया र उपयोगिता बारे प्रचारप्रसार गरिरहको छन् । नागरिकले महत्व बुझेर स्वेच्छाले बीमा गराउन चाहेको खण्डमा दर्ता सहयोगीले सहजीकरण तथा समन्वय गर्ने गरेका छन् । दर्ता सहयोगीकै सक्रियताको कारण नागरिकहरु स्वास्थ्य बीमामा आकर्षित भएको दर्ता अधिकारी लुईँटेलले सुनाउनुभयो । बीमा गरेका व्यक्ति बिरामी भएमा उपचारका लागि बीमा कार्यालयसँग सम्झौता भएका जिल्लाको चरिकोट अस्पताल, बैतेश्वर अस्पताल, जिरी अस्पताल, सिंगटी र सुरी प्राथमिक स्वास्थ्य केन्द्रमा गएमा एक लाख सम्मको निशुल्क उपचार सेवा पाउन सक्ने व्यवस्था रहेको छ । अन्य जिल्लामा उपचार गर्नुपर्ने भए तोकिएको स्वास्थ्य संस्थामा उपचार सेवा पाउन सकिन्छ । स्वास्थ्य बीमाले विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतलाई उपचार खर्चमा सहयोग तथा राहत मिल्ने भएकोले यसको प्रचारप्रसारलाई व्यापक बनाई सबैलाई बीमाको पहुँचमा ल्याउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखामा नागरिक स्वास्थ्य वीमामा आकर्षित हुँँदै"

Leave a comment

Your email address will not be published.


*